सबै मानिसहरूसँग मिलेर बस्न अनि पवित्र जीवन बिताउन बल गर किनभने पवित्र नभई कसैले प्रभुलाई देख्न सक्नेछैन। होश राख, कसैले पनि परमेश्वरको अनुग्रह गुमाउनुनपरोस्, मन तीतो पार्ने विषालु झारझैँ उम्रेर दु:ख दिने नबन, नत्र धेरैलाई अशुद्ध पार्नेछौ। कोही पनि छाडा स्वभावको नबन अनि एसावजस्तै परमेश्वरलाई नखोज्ने नहोओ। एसावले त एक छाक खानाको लागि जेठो छोराले पाउने आफ्नो हकलाई नै बेचेको थियो। तिमीहरूलाई थाहा नै छ, पछि उसले आफ्ना बुबाबाट आशीर्वाद पाउन खोज्यो, तर पाएन। उसले आफूले बेचेको हक रोएर फिर्ता लिन खोज्दा पनि फिर्ता पाउन सकेन। तिमीहरू छुन सकिने सीनै पर्वतको छेउमा आएका होइनौ, जहाँ आगाको ज्वाला निस्किरहेथ्यो, कालो बादलले ढाकेर हुरी चलिरहेको र अन्धकार छाइरहेको थियो। तिनीहरूले त फुकेको तुरही र एउटा ठूलो आवाज सुनेका थिए। यस्तो आवाज सुन्दा तिनीहरूले अब फेरि त्यो आवाज कहिल्यै सुन्नुनपरोस् भनेर बिन्ती गरेका थिए किनभने जनावरले पनि यस डाँडालाई छोयो भने ढुङ्गाले हानेर मार्नू भन्ने कडा आज्ञा तिनीहरूले सहन सकेनन्। त्यो दृश्य अति डरलाग्दो थियो। यसैले “म त डरले काम्दै छु,” भनेर मोशा आफैंले पनि भनेका थिए। तर तिमीहरू त सियोन र जिउँदा परमेश्वरको सहर स्वर्गीय यरूशलेममा आएका छौ। हजारौं-हजार स्वर्गदूतहरू रमाउँदै जम्मा भएको ठाउँमा आएका छौ। तिमीहरू परमेश्वरकै जेठो हक पाउनेहरूको मण्डलीमा पुगेका छौ, जसको नाउँ स्वर्गमा पनि लेखिएको छ। तिमीहरू सबै मानिसहरूका न्यायाधीश परमेश्वरकै अदालतमा र असल मानिसका सिद्ध पारिएका आत्माहरू भएको ठाउँमा आइपुगेका छौ। तिमीहरू र परमेश्वरका बीचमा नयाँ करार बाँधिदिनुहुने येशूकहाँ आएका छौ। तिमीहरू हाबिलले चढाएको रगतले भन्दा अझ असल कुरा प्रतिज्ञा गर्ने येशूको रगतमा आएका छौ। होश राख, तिमीहरूसँग बोल्नुहुनेको आवाजलाई इन्कार नगर। यस पृथ्वीका मानिसबाट दिइएको परमेश्वरको चेतावनी इन्कार गर्नेहरू उम्कन सकेनन् भने झन् स्वर्गबाट बोल्नुहुनेलाई इन्कार गर्यौं भने हामीहरूको गति कस्तो होला? सीनै पहाडमा परमेश्वरले बोल्नुहुँदा पृथ्वी नै हल्लिएको थियो। अहिले त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “म पृथ्वीलाई मात्र होइन, स्वर्गलाई समेत अझै एक पटक हल्लाउनेछु।” यी “अझै एक पटक” भन्ने शब्दले सृष्टिका कुराहरू नै हल्लाइने र हटाइनेछ भन्ने बुझिन्छ। त्यसो हो भने नहल्लिने कुराहरू मात्र रहनेछन्। यसकारण हल्लाउनै नसकिने राज्य हामीले पाएकोमा परमेश्वरलाई धन्यवाद चढाऔं अनि उहाँलाई मन पर्ने किसिमले भक्ति र आदरसँग उहाँको आराधना गरौं किनभने साँच्चै हाम्रा परमेश्वर त भस्म गर्ने आगो हुनुहुन्छ।
हिब्रू 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 12:14-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू