YouVersion लोगो
खोज आइकन

उत्पत्ति 45:4-15

उत्पत्ति 45:4-15 NCV

त्यसपछि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो नजिक आउनुहोस्।” जब उनीहरू आए, तब तिनले भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, जसलाई तपाईंहरूले इजिप्टमा बेच्नुभएको थियो! अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्‍वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो। देशमा दुई वर्षदेखि अनिकाल छाएको छ; अनि अब आउने पाँच वर्षहरूमा जोत्ने र कटनी गर्ने काम हुनेछैन। तर एउटा महान् छुटकाराद्वारा तपाईंहरूका निम्ति पृथ्वीमा एउटा अवशेष जोगाइराख्न र तपाईंहरूका जीवन बचाउनका लागि परमेश्‍वरले मलाई तपाईंहरूको अगि पठाउनुभयो। “यसर्थ मलाई यहाँ पठाउने तपाईंहरू होइन, तर परमेश्‍वर हुनुहुन्छ। उहाँले मलाई फारोका बुबासरह, उहाँको सम्पूर्ण घरानाको मालिक र सम्पूर्ण इजिप्टको शासक बनाउनुभयो। अब झट्टै मेरा पिताकहाँ फर्किजानुहोस् र यसो भन्‍नुहोस्, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्‍वरले मलाई सम्पूर्ण इजिप्टका मालिक बनाउनुभएको छ। ढिलो नगरी मकहाँ आउनुहोस्। तपाईंहरू, तपाईंका छोराछोरीहरू र तपाईंका नातिनातिनाहरू, तपाईंका पशुहरूका बगाल र बथान, र तपाईंसित भएका सबै गोशेनको प्रान्तमा मेरो छेवैमा बस्‍नुहुनेछ। त्यहाँ म तपाईंहरूका निम्ति बन्दोबस्त गरिदिनेछु; किनकि पाँच वर्षको अनिकाल आउन बाँकी नै छ। नत्रता तपाईंसहित तपाईंको परिवार सबै बिचल्‍लीमा पर्नेछन्।’ “हेर्नुहोस्! तपाईंहरूसँग साँच्‍चै नै म बोल्दैछु भनेर तपाईंहरू आफैँले र मेरो भाइ बेन्यामीनले पनि देखेको छ। मेरा पितालाई इजिप्टमा मलाई दिइएको सम्मानको विषयमा तपाईंहरूले देख्नुभएको प्रत्येक कुराको विषयमा भन्‍नुहोस्। अनि मेरा पितालाई झट्ट यहाँ ल्याउनुहोस्।” तब तिनले आफ्नो भाइ बेन्यामीनलाई अँगालो हाले र धुरुधुरु रोए, र बेन्यामीनले पनि रुँदै तिनलाई अँगालो हाले। अनि तिनले सबैलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसित कुराकानी गरे।

उत्पत्ति 45 पढ्नुहोस्