YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 45:4-15

उत्‍पत्ति 45:4-15 NNRV

तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” उनीहरू नजिक गएपछि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ। तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्‍ति परमेश्‍वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो। देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्‍म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन। अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्‍वीमा जोगाएर राख्‍न र तिमीहरूको जीवन बचाउन भनी परमेश्‍वरले मलाई तिमीहरूभन्‍दा अगि यहाँ पठाउनुभएको हो। “यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले मलाई फारोका बुबातुल्‍य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्‍याउनुभएको छ। अब झट्टै मेरा बुबाकहाँ गएर उहाँलाई भन, ‘तपाईंको छोरो योसेफ यसो भन्‍छ: परमेश्‍वरले मलाई सारा मिश्रका मालिक तुल्‍याउनुभएको छ। कति पनि अबेर नगरी मकहाँ आउनुहोस्‌। तपाईं गोशेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्‍चाहरू र तपाईंका नाति-नातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे-जति सबै मेरो नजिकै हुनेछन्‌। त्‍यहाँ म तपाईंको पालनपोषण गर्नेछु, किनकि अनिकालका अझै पाँच वर्ष बाँकी नै छन्, नत्रता तपाईं र तपाईंका परिवार र तपाईंसँग भएका सबै दरिद्र हुनेछन्‌।’ “अब तिमीहरूसँग बोल्‍ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्‍नै आँखाले र मेरो भाइ बेन्‍यामीनले पनि देखेका छौ। मिश्रदेशमा मेरो सबै गौरव र तिमीहरूले जे-जे देखेका छौ सो सब कुरा मेरा बुबालाई अवश्‍य भन्‍नू, र झट्टै मेरा बुबालाई यहाँ ल्‍याउनू।” तब आफ्‍नो भाइ बेन्‍यामीनको गलामा अँगालो हालेर तिनी खूब रोए, र बेन्‍यामीन पनि तिनको गलामा टाँसिएर रोए। अनि तिनले आफ्‍ना सबै दाजुहरूलाई म्‍वाइँ खाए, र उनीहरूसित रोए। त्‍यसपछि तिनका दाजुहरूले पनि तिनीसँग कुराकानी गरे।