तब योसेफले तिनीहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” तिनीहरू उनको नजिक गए। उनले भने, “म तिमीहरूको भाइ योसेफ हुँ, जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ। मलाई बेच्यौ भनेर अब सुर्ता नगर र आफूलाई अपराधी नठान। वास्तवमा परमेश्वरले मलाई तिमीहरूको अघि नै मानिसहरूको प्राण बचाउनलाई यहाँ पठाउनुभएको हो। देशमा परेको अनिकालको यो दोस्रो वर्ष मात्र हो। अरू पाँच वर्ष बाँकी छ, जब कहीँ हलो जोत्न सकिनेछैन न अन्नको कटनी हुन सक्छ। यस्तो उदेक तरिकाले तिमीहरूलाई बचाउन र तिमीहरू र तिमीहरूका सन्तानको प्राण जोगाउन परमेश्वरले मलाई पहिले नै पठाउनुभयो र मलाई यहाँ पठाउने खासमा तिमीहरू होइनौ तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई राजाको सबैभन्दा ठूलो कर्मचारी बनाउनुभएको छ। म यो सारा देशमाथि हाकिम खटाइएको छु। म सम्पूर्ण मिश्रदेशको शासक बनेको छु। “अब हतार गरेर मेरा बुबाकहाँ जाओ र तपाईंको छोरा योसेफले यसो भनी पठाएका छन् भन: ‘परमेश्वरले मलाई सारा मिश्रदेशको शासक बनाउनुभएको छ। झट्टै मकहाँ आउनुहोस्। तपाईं गोशेनको इलाकामा बस्न सक्नुहुनेछ। त्यसो भए तपाईं, तपाईंका छोरा-छोरी र नाति-नातिनाहरू, भेडा-बाख्रा, गाई-गोरु र आफ्ना साथमा भएका सबै थोकहरू मेरो नजिकमा बास गर्न सक्नुहुन्छ। तपाईं गोशेनमा बस्नुभयो भने म तपाईंको हेरचाहा गर्न सक्छु। अझ पाँच वर्ष अनिकाल बाँकी नै छ र तपाईं र तपाईंका परिवार र गाई-वस्तुहरू भोकै रहेको म चाहँदिनँ।” योसेफले फेरि भने, “तिमीहरू सबैले अँ, बेन्यामीनले पनि देख्न सक्छौ कि म साँच्चै योसेफ हुँ। मेरा बुबालाई गएर भन कि म यहाँ मिश्रमा कति सामर्थी भएको छु। तिमीहरूले आफ्ना आँखाले देखेका सबै कुरा उहाँलाई सुनाओ। त्यसपछि छिटो गरेर उहाँलाई लिएर यहाँ आओ।” उनी आफ्ना भाइ बेन्यामीनलाई अँगालो हाली रुन थाले। त्यसरी अँगालो हाल्दा बेन्यामीन पनि रोए। त्यसपछि रुँदै उनले हरेक दाजु र भाइलाई अँगालो हालेर म्वाइँ खाए। त्यसपछि दाजुभाइहरू उनीसित कुराकानी गर्न थाले।
उत्पत्ति 45 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 45:4-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू