YouVersion लोगो
खोज आइकन

उत्पत्ति 4:3-16

उत्पत्ति 4:3-16 NCV

केही समय बितेपछि कयिनले याहवेहलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही ल्याए। अनि हाबिलले पनि आफ्ना बगालका पहिले जन्मेका मोटा पाठाहरूबाट केही असल भागहरू ल्याए। याहवेहले हाबिल र तिनको भेटीलाई निगाहको दृष्‍टिले हेर्नुभयो; तर कयिनलाई र तिनको भेटीलाई चाहिँ निगाहको दृष्‍टिले हेर्नुभएन। यसकारण कयिन रिसले चुर भए, र तिनको मुख अँध्यारो भयो। तब याहवेहले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन उदास छ? तैँले जे ठिक छ, सो गरिस् भने के तँ स्वीकारयोग्य हुँदैनस् र? तर तैँले जे ठिक छ, सो गरिनस् भने पाप तेरो ढोकामा ढुकिबसेको छ; त्यसले तँलाई अधीनमा राख्न खोज्छ, तर तैँले त्यसलाई अधीन गर्नैपर्छ।” त्यसपछि कयिनले आफ्नो भाइ हाबिललाई भने, “आइज, हामी बाहिर खेतमा जाऔँ।” अनि जब तिनीहरू खेतमा थिए, तब कयिनले आफ्नो भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे। तब याहवेहले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “म जान्दिनँ; के म मेरो भाइको गोठालो हुँ र?” याहवेहले भन्‍नुभयो, “तैँले यो के गरिस्? सुन! तेरो भाइको रगतको आवाजले भूमिबाट मलाई पुकार्दैछ। अब तँमाथि श्राप परेको छ, र भूमिबाट धपाइएको छस्, त्यस भूमिले तेरो हातबाट तेरो भाइको रगत लिनलाई आफ्नो मुख खोलेको छ। जब तैँले भूमिमा खनजोत गर्छस्, अब उसो त्यसले तेरा लागि अन्‍न उमार्नेछैन। तँ पृथ्वीमा एक बेचैन डुलुवा हुनेछस्।” कयिनले याहवेहलाई भने, “मेरो दण्ड मैले सहनै नसक्ने भयो। आज तपाईंले मलाई यस ठाउँबाट निकाल्नुहुँदैछ; अनि म तपाईंको उपस्थितिबाट लुकाइनेछु; यस पृथ्वीमा म बेचैन डुलुवा हुनेछु; अनि जसले मलाई भेट्टाउँछ, त्यसले मलाई मार्नेछ।” तर याहवेहले तिनलाई भन्‍नुभयो, “यस्तो हुनेछैन, यदि कसैले कयिनलाई मार्‍यो भने त्यसको सात गुणा बढ्ता त्यसले भोग्नेछ।” तब तिनलाई कसैले भेटेर नमारून् भनी याहवेहले कयिनलाई एउटा चिन्ह लगाइदिनुभयो। यसरी कयिन याहवेहको उपस्थितिबाट गयो, र अदनको पूर्वपट्टिको नोद भन्‍ने ठाउँमा बस्‍न लाग्यो।

उत्पत्ति 4 पढ्नुहोस्