YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 4:3-16

उत्‍पत्ति 4:3-16 NNRV

केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए। तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र उनको मुख अँध्‍यारो भयो। तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्‍यारो छ? यदि तैंले जे ठीक छ त्‍यो गरिस्‌ भने तँ ग्रहणयोग्‍य हुँदैनस्‌ र? तर यदि तैंले ठीक काम गरिनस्‌ भनेता पाप तेरो ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तँप्रति हुन्‍छ, तर तैंले त्‍यसलाई अधीन गर्नैपर्छ।” कयिनले आफ्‍ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। तब परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?” परमप्रभुले भन्‍नुभयो, “यो तैंले के गरिस्‌? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ। तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्‍नो मुख उघार्‍यो। तैंले भूमिको खेती गर्दा अब उप्रान्‍त त्‍यसले तँलाई आफ्‍नो उब्‍जनी दिनेछैन। तँ पृथ्‍वीमा एक विनाचैनको डुलुवा हुनेछस्‌।” कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्‍ने कड़ा दण्‍ड मलाई भयो। हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्‍छ, र तपाईंको उपस्‍थितिबाट मैले लुक्‍नुपर्नेछ। म पृथ्‍वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।” तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “त्‍यसो होइन, जसले कयिनलाई मार्छ त्‍यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस्‌ भनी परमप्रभुले तिनीमाथि एउटा चिन्‍ह लगाइदिनुभयो। तब कयिन परमप्रभुको उपस्‍थितिबाट निस्‍केर अदनको पूर्वपट्टि भएको नोद भन्‍ने देशमा बस्‍न लागे।