केही समयपछि कयिनले खेतीको केही उब्जनी ल्याएर परमप्रभुलाई भेटी चढाए। तब हाबिलले आफ्ना बथानको एउटा भेडाले ब्याएको पहिलो पाठो ल्याए र मारे र त्यसको सबैभन्दा राम्रो भाग भेटी चढायो। परमप्रभु हाबिल र उनको भेटीसँग प्रसन्न हुनुभयो, तर कयिन र उनको भेटीचाहिँ अस्वीकार गर्नुभयो। कयिन झोकिए र रिसले अनुहार बिगारे। तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाइस्? तेरो अनुहार किन बिग्रियो? तैँले ठीक काम गरेको भए, तँ हाँस्न पाउनेथिइस् तर तैँले खराब काम गरिस् र पाप तेरो ढोकामा आई ढुकिरहेको छ। त्यसले तँलाई अधीन गर्न खोज्छ तर तैँले त्यसलाई अधीन गर्नुपर्छ।” तब कयिनले आफ्नो भाइ हाबिललाई भने, “आइज, हामी खेतमा जाऔं।” तिनीहरू खेतमा पुगेपछि कयिन भाइमाथि जाइलागे र त्यसलाई मारे। परमप्रभुले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “मलाई थाहा छैन। के म मेरो भाइको गोठालो हुँ र?” तब परमप्रभुले भन्नुभयो, “तैँले किन यो घिनलाग्दो काम गरिस्? बदला लिन उचालेको सोरजस्तो तेरो भाइको रगतले भूइँबाट मलाई दुहाइ दिइरहेको छ। तँमाथि सराप परेको छ र तैँले जमिनमा खेती गर्न पाउनेछैनस्। तेरो भाइको रगतले जमिन भिजेको छ, तैँले भाइलाई मार्दा जमिनले आफ्नो मुख खोलेर रगत पियो। तैँले खेतीपाती गर्ने चेष्टा गरिस् भने जमिनले केही उब्जनी दिनेछैन। तँ घरबिनाको पृथ्वीमा एउटा डुलिहिँड्ने मानिस हुनेछस्।” कयिनले परमप्रभुलाई भने, “यो दण्ड मैले सहन नसक्ने गरी कडा भयो। तपाईंले मलाई जमिन र आफ्ना सामुदेखि धपाउँदै हुनुहुन्छ। म पृथ्वीमा एउटा घरबिनाको डुलिहिँड्ने मानिस हुनेछु अनि जसले मलाई भेट्टाउनेछ, उसले मलाई मार्नेछ।” तर परमप्रभुले उत्तर दिनुभयो, “होइन, कसैले तँलाई मार्यो भने त्यसको सट्टामा सात गुणा बदला लिइनेछ।” यसकारण उनलाई भेट्ने कसैले कयिनलाई नमारोस् भनी चेतावनी दिन परमप्रभुले कयिनमाथि एउटा चिन्ह लाइदिनुभयो। अनि कयिन परमप्रभुका सामुदेखि निस्किए र अदनको पूर्वपट्टि भएको नोद (जसको अर्थ हो ‘डुलुवा’) भनिने देशमा बसोबास गर।
उत्पत्ति 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 4:3-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू