त्यसपछि तिनीहरू बेथेलबाट हिँडे। तिनीहरू एप्रातदेखि टाढा छँदै राहेललाई सुत्केरी व्यथा लागेर ज्यादै पीडा भयो। अनि तिनलाई सुत्केरी व्यथाले कष्ट हुँदा सुँडेनीले तिनलाई भनिन्, “नडराउनुहोस्, किनकि तपाईंले अर्को छोरालाई जन्म दिनुभएको छ।” जब तिनी मर्नै लागेकी थिइन्, तिनले अन्तिम सास लिँदैगर्दा, तिनले आफ्नो छोराको नाम बेन-ओनी राखिन्। तर त्यसका बुबाले त्यसको नाम बेन्यामीन राखे। यसरी राहेलको मृत्यु भयो, र तिनी एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडिइन्। तिनको चिहानमाथि याकोबले एउटा खाँबो खडा गरे; अनि त्यो खाँबो राहेलको चिहानको सङ्केतको रूपमा आजसम्म पनि छँदैछ। इस्राएल अझै अगि बढे, र आफ्नो पाल मिग्दल-एदेरको पारिपट्टि टाँगे। इस्राएल त्यस प्रान्तमा रहेकै बेला रूबेन आफ्ना बुबाकी उपपत्नी बिल्हासित सुते; अनि इस्राएलले यसको बारेमा सुने। याकोबका बाह्र छोराहरू थिए: लेआका छोराहरू: रूबेन, जो याकोबका जेठा छोरा थिए, शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून। राहेलका छोराहरू: योसेफ र बेन्यामीन। राहेलकी सेविका बिल्हाका छोराहरू: दान र नप्ताली। लेआकी सेविका जिल्पाका छोराहरू: गाद र आशेर। पद्दन-अराममा जन्मेका याकोबका छोराहरू यिनै थिए। याकोब किर्यत-अर्बा (अर्थात्, हेब्रोन) को नजिक मम्रेमा आफ्ना पिता इसहाककहाँ आए, जहाँ अब्राहाम र इसहाक बस्थे। इसहाक एक सय असी वर्षसम्म बाँचे। तब इसहाकले आफ्नो पूरा बुढेसकालमा, पूरा आयुमा तिनले अन्तिम सास फेरे, र तिनको मृत्यु भयो; अनि आफ्ना पुर्खाहरूसित मिल्न गए। अनि तिनका छोराहरू एसाव र याकोबले तिनलाई गाडे।
उत्पत्ति 35 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 35:16-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू