YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 35:16-29

उत्‍पत्ति 35:16-29 सरल नेपाली

याकूब आफ्‍ना जहान, बालबच्‍चा लिएर बेथेलबाट हिँडे। तिनीहरू एप्रात पुग्‍न बाँकी नै थियो। राहेलले छोरा-छोरी जन्‍माउने समय भयो तर उसलाई ज्‍यादै पीडा भैरहेको थियो। उसलाई औधी पीडा भएको बेलामा सुडेनीले उनलाई भनी, “राहेल, नहड्‌बडाऊ। तिम्रो अर्को छोरो भयो।” तर उनी मर्न लागेकी थिइन् र प्राण जाने बेलामा छोराको नाम ‘बेन-ओनी’ राखिन्। तर बुबाचाहिँले बालकको नाम ‘बेन्‍यामीन’ राखे। राहेल मरिन्। आजकाल बेथलेहेम भनिने तर त्‍यस बेलाको एप्राततिर जाने बाटोको छेउमा उनलाई गाडियो। त्‍यहाँ याकूबले एउटा स्‍मारक ढुङ्गा ठड्याए र आजसम्‍म त्‍यो राहेलको चिहान ढुङ्गा छँदैछ। इस्राएल त्‍यहाँबाट अघि बढे र मिग्‍दल-एदेरको पारिपट्टि उनले आफ्‍नो पाल टाँगे। याकूब त्‍यस देशमा बसेको बेलामा उनको रखेल बिल्‍हासित रूबेन सुत्‍यो। त्‍यो सुनेर याकूब साह्रै रिसाए। याकूबका बाह्र छोराहरू थिए। लेआका छोराहरू रूबेन (याकूबका जेठा छोरा), शिमियोन, लेवी, यहूदा, इस्‍साखार र जबूलून थिए। राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए। राहेलकी कमारी बिल्‍हाका छोराहरू दान र नप्‍ताली थिए। लेआकी कमारी जिल्‍पाका छोराहरू गाद र आशेर थिए। यी छोराहरू पद्दन-आराममा जन्‍मेका थिए। हेब्रोनको नजिक अब्राहाम र इसहाक बसेका ठाउँ मम्रेमा आफ्‍नो बुबा इसहाकसँग भेट्‍न भनी याकूब गए। इसहाक एक सय असी वर्षसम्‍म बाँचे र पूरा उमेर पुगेर मरे। उनका छोरा एसाव र याकूबले उनलाई गाडे।

उत्‍पत्ति 35 पढ्नुहोस्