YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 35:16-29

उत्‍पत्ति 35:16-29 NNRV

तिनीहरू फेरि बेथेलबाट हिँड़ेर एप्रात पुग्‍न अझ केही बाँकी छँदै राहेललाई सुत्‍केरी बेथा लाग्‍यो, र तिनलाई ज्‍यादै पीडा भयो। तिनलाई अतिशय पीडा हुँदा सुँड़ेनीले तिनलाई भनी, “नडराउनुहोस्, किनकि तपाईंको अर्को एक जना छोरो हुनेछ।” तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्‌) तिनले त्‍यस बालकको नाउँ बेन-ओनी राखिन्‌। तर त्‍यसका बुबाले बालकको नाउँ बेन्‍यामीन राखे। यसरी राहेल मरिन्, र एप्रात, अर्थात्‌ बेथलेहेम जाने बाटोमा तिनीहरूले तिनलाई गाड़े। याकूबले तिनको चिहानमाथि एउटा खामो खड़ा गरे। यो राहेलका चिहानको खामो हो, जो अहिलेसम्‍म पनि छँदैछ। इस्राएल अगि बढ़े, र तिनले मिग्‍दल-एदेरबाट पारिपट्टि आफ्‍नो पाल टाँगे। इस्राएल त्‍यस देशमा रहँदा रूबेन तिनकी भित्रिनी बिल्‍हासँग सुते, र इस्राएलले यो कुरा सुने। याकूबका बाह्रजना छोराहरू थिए: लेआतर्फका छोराहरू: जेठा रूबेन, त्‍यसपछि शिमियोन, लेवी, यहूदा, इस्‍साखार र जबूलून। राहेलतर्फका छोराहरू: योसेफ र बेन्‍यामीन। राहेलकी कमारी बिल्‍हातर्फका छोराहरू: दान र नप्‍ताली। लेआकी कमारी जिल्‍पातर्फका छोराहरू: गाद र आशेर। पद्दन-आराममा जन्‍मेका याकूबका छोराहरू यी नै हुन्‌। याकूब तिनका बुबा इसहाककहाँ मम्रे, अर्थात्‌ किर्यत-अर्बामा आए (जो हेब्रोन हो), जहाँ अब्राहाम र इसहाकले बसोबास गरेका थिए। इसहाकको जम्‍मा उमेर एक सय असी वर्ष भएको थियो। तब इसहाकको मृत्‍यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए। अनि तिनका छोरा एसाव र याकूबले तिनलाई गाड़े।