तब परमेश्वरले याकोबलाई भन्नुभयो, “बेथेल गएर त्यहीँ बसोबास गर्, र तँ तेरा दाजु एसावदेखि भागेको बेला तँकहाँ देखा पर्नुहुने परमेश्वरका लागि त्यहाँ एउटा वेदी बना।” यसकारण याकोबले आफ्नो घराना र आफूसँग भएका सबैलाई भने, “तिमीहरूसँग भएका परदेशी देवताहरू त्याग, र आफूलाई शुद्ध पार, र आफ्ना लुगाहरू फेर। त्यसपछि आओ र हामी बेथेल जाऔँ, जहाँ म परमेश्वरका निम्ति एउटा वेदी बनाउनेछु, जसले मेरो सङ्कटमा मलाई जवाफ दिनुभयो र, म जहाँ-जहाँ गएँ, मेरो साथमा रहनुभयो।” यसकारण तिनीहरूले आफूसित भएका सबै विदेशी देवताहरू र आफ्ना कानका कुण्डलहरू याकोबलाई दिए; अनि याकोबले ती शेकेममा भएको फलाँटको रूखमुनि गाडिदिए। त्यसपछि तिनीहरू त्यहाँबाट हिँडे, र तिनीहरू गएको चारैतिरका नगरहरूमा परमेश्वरको त्रास फैलियो। त्यसकारण कसैले पनि याकोबका छोराहरूलाई खेदेन। याकोब र तिनीसित भएका सबै मानिसहरू कनानको लूजमा (अर्थात्, बेथेलमा) आए। त्यहाँ तिनले एउटा वेदी बनाए, र तिनले त्यस ठाउँलाई एल-बेथेल भने; किनकि तिनी आफ्ना दाजुदेखि भागेर जाँदा त्यहीँ नै परमेश्वरले आफूलाई तिनीकहाँ प्रकट गर्नुभएको थियो। अब रिबेकाकी धाईआमा दबोराको मृत्यु भयो, र तिनलाई बेथेलबाहिर फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम अल्लोन-बकुत राखियो। याकोब पद्दन-अरामबाट फर्केपछि परमेश्वर तिनीकहाँ फेरि देखा पर्नुभयो, र तिनलाई आशिष् दिनुभयो। परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो नाम याकोब हो; तर अब उसो तँलाई याकोब भनिनेछैन, तर तेरो नाम इस्राएल हुनेछ।” यसरी उहाँले तिनको नाम इस्राएल राख्नुभयो। अनि परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ; फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू। तँबाट एउटा राष्ट्र र जाति-जातिहरूको एउटा समुदाय निस्कनेछ; र तेरा सन्तानहरूका बीचबाट राजाहरू निस्कनेछन्। मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई पनि दिनेछु, र यही देश म तँपछि तेरा सन्तानहरूलाई पनि दिनेछु।” त्यसपछि परमेश्वर आफूले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँबाट माथि जानुभयो। याकोबले तिनीसित परमेश्वरले कुरा गर्नुभएको ठाउँमा एउटा खाँबो ठड्याए; अनि त्यसमाथि तिनले अर्घबलि चढाए; अनि त्यसमाथि तेल पनि खन्याए। परमेश्वरले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँको नाम याकोबले बेथेल राखे।
उत्पत्ति 35 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 35:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू