YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 35:1-15

उत्‍पत्ति 35:1-15 NNRV

त्‍यसपछि परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “उठेर बेथेलमा जा, र त्‍यहीँ बसोबास गर्, र तेरो दाजु एसावबाट तँ भाग्‍दाखेरि तँकहाँ देखा पर्ने परमेश्‍वरको निम्‍ति त्‍यहाँ एउटा वेदी बना।” यसकारण याकूबले आफ्‍नो घराना र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्‍काइदेओ र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर। तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्‍नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्‍वरको निम्‍ति त्‍यहाँ एउटा वेदी म बनाउनेछु।” यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्‍ना कानमा भएका कुण्‍डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए। जब तिनीहरूले आफ्‍नो यात्रा सुरु गरे तब परमेश्‍वरको त्रास वरिपरिका सहरहरूमा फैलियो, र कसैले पनि तिनीहरूलाई खेदेन। याकूब र तिनीसँग भएका सबै जना कनान देशमा भएको लूज सहरमा, अर्थात्‌ बेथेलमा आइपुगे। त्‍यहाँ तिनले एउटा वेदी बनाए। त्‍यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्‍वरले आफैलाई त्‍यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो। त्‍यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्‍यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्‍यसैले त्‍यस ठाउँको नाउँ अल्‍लोन-बकुत राखे। याकूब पद्दन-आरामबाट आएपछि परमेश्‍वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष्‌ दिनुभयो। परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाउँ त याकूब हो, तर अबदेखि उप्रान्‍त तँलाई याकूब भनिनेछैन, तेरो नाउँ इस्राएल हुनेछ।” यसैले तिनको नाउँ इस्राएल भयो। परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। फल्‍दै-फुल्‍दैजा, र संख्‍यामा तेरो वृद्धि होस्‌। एउटा जाति र जातिहरूको समूह तँबाट उत्‍पन्‍न हुनेछन्, र राजाहरू पनि तँबाट उत्‍पन्‍न हुनेछन्‌। अब्राहाम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु, र म त्‍यो देश तँपछि हुने तेरा सन्‍तानलाई दिनेछु।” तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्‍वर उक्‍लिहाल्‍नुभयो। परमेश्‍वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्‍यसमा अर्घ-बलि चढ़ाएर तेल खन्‍याए। परमेश्‍वरले तिनीसँग कुरा गर्नुभएको त्‍यस ठाउँको नाउँ याकूबले बेथेल राखे।