YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 35:1-15

उत्‍पत्ति 35:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसपछि परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “उठेर बेथेलमा जा, र त्‍यहीँ बसोबास गर्, र तेरो दाजु एसावबाट तँ भाग्‍दाखेरि तँकहाँ देखा पर्ने परमेश्‍वरको निम्‍ति त्‍यहाँ एउटा वेदी बना।” यसकारण याकूबले आफ्‍नो घराना र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्‍काइदेओ र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर। तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्‍नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्‍वरको निम्‍ति त्‍यहाँ एउटा वेदी म बनाउनेछु।” यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्‍ना कानमा भएका कुण्‍डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए। जब तिनीहरूले आफ्‍नो यात्रा सुरु गरे तब परमेश्‍वरको त्रास वरिपरिका सहरहरूमा फैलियो, र कसैले पनि तिनीहरूलाई खेदेन। याकूब र तिनीसँग भएका सबै जना कनान देशमा भएको लूज सहरमा, अर्थात्‌ बेथेलमा आइपुगे। त्‍यहाँ तिनले एउटा वेदी बनाए। त्‍यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्‍वरले आफैलाई त्‍यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो। त्‍यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्‍यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्‍यसैले त्‍यस ठाउँको नाउँ अल्‍लोन-बकुत राखे। याकूब पद्दन-आरामबाट आएपछि परमेश्‍वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष्‌ दिनुभयो। परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाउँ त याकूब हो, तर अबदेखि उप्रान्‍त तँलाई याकूब भनिनेछैन, तेरो नाउँ इस्राएल हुनेछ।” यसैले तिनको नाउँ इस्राएल भयो। परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। फल्‍दै-फुल्‍दैजा, र संख्‍यामा तेरो वृद्धि होस्‌। एउटा जाति र जातिहरूको समूह तँबाट उत्‍पन्‍न हुनेछन्, र राजाहरू पनि तँबाट उत्‍पन्‍न हुनेछन्‌। अब्राहाम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु, र म त्‍यो देश तँपछि हुने तेरा सन्‍तानलाई दिनेछु।” तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्‍वर उक्‍लिहाल्‍नुभयो। परमेश्‍वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्‍यसमा अर्घ-बलि चढ़ाएर तेल खन्‍याए। परमेश्‍वरले तिनीसँग कुरा गर्नुभएको त्‍यस ठाउँको नाउँ याकूबले बेथेल राखे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 35 पढ्नुहोस्

उत्‍पत्ति 35:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब परमेश्‍वरले याकोबलाई भन्‍नुभयो, “बेथेल गएर त्यहीँ बसोबास गर्, र तँ तेरा दाजु एसावदेखि भागेको बेला तँकहाँ देखा पर्नुहुने परमेश्‍वरका लागि त्यहाँ एउटा वेदी बना।” यसकारण याकोबले आफ्नो घराना र आफूसँग भएका सबैलाई भने, “तिमीहरूसँग भएका परदेशी देवताहरू त्याग, र आफूलाई शुद्ध पार, र आफ्ना लुगाहरू फेर। त्यसपछि आओ र हामी बेथेल जाऔँ, जहाँ म परमेश्‍वरका निम्ति एउटा वेदी बनाउनेछु, जसले मेरो सङ्कटमा मलाई जवाफ दिनुभयो र, म जहाँ-जहाँ गएँ, मेरो साथमा रहनुभयो।” यसकारण तिनीहरूले आफूसित भएका सबै विदेशी देवताहरू र आफ्ना कानका कुण्डलहरू याकोबलाई दिए; अनि याकोबले ती शेकेममा भएको फलाँटको रूखमुनि गाडिदिए। त्यसपछि तिनीहरू त्यहाँबाट हिँडे, र तिनीहरू गएको चारैतिरका नगरहरूमा परमेश्‍वरको त्रास फैलियो। त्यसकारण कसैले पनि याकोबका छोराहरूलाई खेदेन। याकोब र तिनीसित भएका सबै मानिसहरू कनानको लूजमा (अर्थात्, बेथेलमा) आए। त्यहाँ तिनले एउटा वेदी बनाए, र तिनले त्यस ठाउँलाई एल-बेथेल भने; किनकि तिनी आफ्ना दाजुदेखि भागेर जाँदा त्यहीँ नै परमेश्‍वरले आफूलाई तिनीकहाँ प्रकट गर्नुभएको थियो। अब रिबेकाकी धाईआमा दबोराको मृत्यु भयो, र तिनलाई बेथेलबाहिर फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम अल्‍लोन-बकुत राखियो। याकोब पद्दन-अरामबाट फर्केपछि परमेश्‍वर तिनीकहाँ फेरि देखा पर्नुभयो, र तिनलाई आशिष् दिनुभयो। परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाम याकोब हो; तर अब उसो तँलाई याकोब भनिनेछैन, तर तेरो नाम इस्राएल हुनेछ।” यसरी उहाँले तिनको नाम इस्राएल राख्नुभयो। अनि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ; फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू। तँबाट एउटा राष्ट्र र जाति-जातिहरूको एउटा समुदाय निस्कनेछ; र तेरा सन्तानहरूका बीचबाट राजाहरू निस्कनेछन्। मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई पनि दिनेछु, र यही देश म तँपछि तेरा सन्तानहरूलाई पनि दिनेछु।” त्यसपछि परमेश्‍वर आफूले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँबाट माथि जानुभयो। याकोबले तिनीसित परमेश्‍वरले कुरा गर्नुभएको ठाउँमा एउटा खाँबो ठड्याए; अनि त्यसमाथि तिनले अर्घबलि चढाए; अनि त्यसमाथि तेल पनि खन्याए। परमेश्‍वरले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँको नाम याकोबले बेथेल राखे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 35 पढ्नुहोस्

उत्‍पत्ति 35:1-15 पवित्र बाइबल (NERV)

परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्यू एसावदेखि बाँच्नको लागि भाग्दै थियौ, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।” यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झूटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ। हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौं, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौं। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।” यसर्थ मानिसहरूसित भएका झूटा देवताहरू तिनीहरूले सबै याकूबलाई दिए। तिनीहरूले आफ्नो कानमा लगाएका कुण्डलहरू पनि याकूबलाई दिए। याकूबले शकेम नाउँको शहरको नजिक एउटा फलाँटको रूखको नजिक ती सब चीजहरू गाडि दिए। याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेटेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए। यसर्थ याकूब अनि उसका मानिसहरू लूज पुगे। आज लूजलाई बेतेल भनिन्छ। यो कनान भूमिमा पर्छ। याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो। रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे। याकूब जब पद्दनआरामबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो। परमेश्वरले याकूबलाई भन्नुभयो, “तिम्रो नाउँ याकूब हो, तर म तिम्रो नाउँ बद्ली गरी दिनेछु। अब उसो तिमीलाई याकूब भनिने छैन र तिम्रो नयाँ नाउँ इस्राएल हुनेछ।” यसर्थ परमेश्वरले उसको नाउँ इस्राएल राख्नु भयो। परमेश्वरले उसलाई भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्। मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।” त्यसपछि परमेश्वर त्यहाँबाट जानु भयो। त्यस ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा राख्यो। उनले दाखरस र तेलले अभिषेक गरी त्यस ढुङ्गालाई पवित्र पार्यो। यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 35 पढ्नुहोस्

उत्‍पत्ति 35:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “झट्टै बेथेलमा गएर त्‍यहाँ बास गर्‌। तेरो दाजु एसावदेखि भागेर गएको बेलामा तँलाई दर्शन दिनुहुने परमेश्‍वरलाई अथवा मलाई त्‍यहाँ एउटा वेदी बना।” याकूबले आफ्‍नो परिवार र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू हटाओ। आफैंलाई पवित्र पार र सफा लुगा लाओ। हामी यो ठाउँ छोडी बेथेलमा जान्‍छौं। त्‍यहाँ म परमेश्‍वरको निम्‍ति एउटा वेदी बनाउनेछु। जुन परमेश्‍वरले कष्‍टको समयमा मलाई मद्दत गर्नुभएको थियो। जहाँ म गएँ, त्‍यहाँ मेरो साथसाथ उहाँ रहनुभयो।” तिनीहरूले सम्‍पूर्ण विदेशी देवताहरू र आफ्‍ना कानमा लाएका कुण्‍डलहरू याकूबलाई दिए। उनले ती सबै शकेमको छेउमा फलाँटको रूखमुनि गाडे। याकूब र तिनका छोराहरू हिँड्‍न लाग्‍दा वरिपरिका सहरहरूका बासिन्‍दाहरूमाथि ठूलो डर भयो र तिनीहरूले तिनलाई खेदेनन्। याकूब आफ्‍ना सबै मानिसहरूसँग कनान देशको लूज सहरमा, जसलाई बेथेल पनि भनिन्‍छ, आइपुगे। उनले त्‍यहाँ एउटा वेदी बनाए र त्‍यस ठाउँको नाम एल-बेथेल परमेश्‍वरको नामअनुसार राखे किनभने त्‍यस ठाउँमा आफू दाजुदेखि भागेर गएको बेलामा परमेश्‍वरले उनलाई दर्शन दिनुभएको थियो। रिबेकाकी धाई दबोरा त्‍यहीँ मरी र उसलाई बेथेलको दक्षिणपट्टि फलाँटको रूखमुनि गाडियो। यसकारण त्‍यसको नाम ‘रुवाबासीको फलाँट’ राखियो। जब याकूब पद्दन-आरामदेखि फर्की आए, परमेश्‍वरले उनलाई फेरि दर्शन दिनुभयो र आशीर्वाद दिनुभयो। परमेश्‍वरले उनलाई भन्‍नुभयो, “तेरो नाम याकूब हो तर अब उसो इस्राएल हुनेछ।” यसरी उनलाई परमेश्‍वरले इस्राएल नाम दिनुभयो। अनि परमेश्‍वरले उनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। तेरा धेरै सन्‍तानहरू हुनेछन्। तँबाट जाति-जातिहरू जन्‍मनेछन् र तँ राजाहरूका पुर्खा हुनेछस्। मैले अब्राहाम र इसहाकलाई दिएको देश तँलाई र तँपछि तेरो वंशलाई दिनेछु।” तब परमेश्‍वर बिदा हुनुभयो। त्‍यहाँ परमेश्‍वरले कुरा गर्नुभएको ठाउँमा याकूबले एउटा स्‍मारक ढुङ्गा ठड्याए र त्‍यसमाथि दाखमद्य र भद्राक्षको तेल खनाएर त्‍यसलाई अभिषेक गरे। त्‍यस ठाउँको नाम उनले बेथेल राखे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 35 पढ्नुहोस्