यसकारण याहवेह परमेश्वरले सर्पलाई भन्नुभयो, “तैँले यसो गरेको कारण, “तँ सबै घरपालुवा जनावरहरू र सबै जङ्गली जनावरहरूमध्ये तैँले मात्र श्राप पाउनेछस्! तँ पेटको बलले घस्रनेछस्, तेरो सारा जीवनभरि, तैँले धुलो खानेछस्। अनि तेरो र स्त्रीको बीचमा, अनि तेरा र स्त्रीका सन्तानको बीचमा दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, अनि तैँले त्यसको कुर्कुच्चा डस्नेछस्।” स्त्रीलाई उहाँले भन्नुभयो, “म तेरो गर्भावस्थाको पीडा ज्यादै बढाइदिनेछु; बडो कष्टसाथ तैँले सन्तान जन्माउनेछस्। तेरो चाहना तेरो पतितर्फ नै हुनेछ, र उसले तँमाथि अधिकार जमाउनेछ।” आदमलाई उहाँले भन्नुभयो, “किनकि तैँले तेरी पत्नीको कुरा सुनेको र मैले तँलाई ‘खाँदै नखानू भनी आदेश दिएको रूखको फल खाएको हुनाले,’ “तेरो कारणले भूमिमा श्राप परेको छ; तेरो जीवनकालभरि तैँले कष्टसाथ परिश्रम गरेर त्यसको फल खानेछस्। भूमिले तेरा निम्ति काँडा र सिउँडी उमार्नेछ; अनि तैँले खेतबारीका सागपात खानेछस्। जबसम्म तँ माटोमा फर्किजाँदैनस्, तबसम्म तेरो निधारको पसिनाद्वारा तैँले आफ्नो भोजन खानेछस्; किनकि तँ धुलो होस्, र तँ धुलोमा नै फर्किजानेछस्; किनकि यसैबाट तँ बनाइएको थिइस्।” आदमले आफ्नी पत्नीको नाम हव्वा राखे; किनकि तिनी नै सबै जीवितहरूकी आमा थिइन्। याहवेह परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाको वस्त्र बनाएर पहिर्याइदिनुभयो। अनि याहवेह परमेश्वरले भन्नुभयो, “मानिस अब हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ। अब उसो त्यसले आफ्नो हात बढाउन नपाओस् र जीवनको रूखबाट टिपेर पनि नखाओस्, र अनन्तसम्म बाँच्न नपाओस्।” यसकारण जुन भूमिबाट तिनी बनाइएका थिए, त्यसैको खनजोत गरोस् भनेर याहवेह परमेश्वरले तिनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। उहाँले मानिसलाई धपाइदिनुभएपछि, अदनको बगैँचाको पूर्वपट्टि जीवनको रूखमा जाने बाटोको रक्षा गर्नलाई करूबहरू अनि चारैतिर चम्किरहने ज्वालामय तरवार राखिदिनुभयो।
उत्पत्ति 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 3:14-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू