तब परमप्रभु परमेश्वरले साँपलाई भन्नुभयो, “यसको लागि तैँले दण्ड पाउनेछस् र सबै पशुहरूमध्ये तैँले मात्र यो सराप पाउनेछस्। अबदेखि उसो पेटको बलले घस्रेर तँ हिँड्नेछस् र जीवनभरि माटो खानेछस्। म तँलाई र स्त्रीलाई आपसमा घृणा गर्न लाउनेछु, तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु र त्यसको सन्तानले तेरो टाउको कुच्च्याउनेछ र तैँले त्यसको सन्तानको कुर्कुच्चा ठुँग्नेछस्।” तब उहाँले स्त्रीलाई भन्नुभयो, “तैँले गर्भवती हुँदा पाउने कष्ट र छोरा-छोरी जन्माउँदा पाउने पीडा म बढाउनेछु। त्यसो भएर पनि तैँले आफ्ना लोग्नेको चाहना गर्नेछस् र उसको अधीनमा बस्नेछस्।” अनि उहाँले मानिसलाई भन्नुभयो, “तैँले तेरी स्वास्नीको कुरा सुनिस् र मैले नखानू भनेको फल खाइस्, तेरो यस कामले गर्दा भूमिमाथि सराप पर्नेछ, त्यहाँबाट आफूलाई पुग्ने गरी खानेकुरा उमार्न तैँले जीवनभरि कठोर मेहनत गर्नुपर्नेछ। त्यसले काँडा र काम नलाग्ने झार उमार्नेछ र तैँले बनका सागपात खानेछस्। जुन माटोबाट तँ बनाइएको थिइस्, त्यही माटोमा नफर्कुञ्जेल तैँले भूमिबाट केही कुरा उमार्न कठोर परिश्रम गरी पसिना चुहाउनुपर्नेछ। तँ माटोले बनेको थिइस् र फेरि माटै बन्नेछस्।” आदमले आफ्नी स्वास्नीको नाम हव्वा राखे किनभने उनी सबै मानिसजातिकी आमा थिइन्। अनि परमप्रभु परमेश्वरले आदम र उनकी स्वास्नीका निम्ति पशुका छालाका वस्त्र बनाइदिनुभयो र तिनीहरूलाई पहिर्याइदिनुभयो। तब परमप्रभु परमेश्वरले भन्नुभयो, “अब मानिस हामीजस्तै भएको छ र उसले असल र खराबको ज्ञान पाएको छ। उसले जीवनको रूखको फल खाएर सधैँभरि बाँचिरहन पाउनुहुँदैन।” यसैले परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो र जुन माटोबाट उनी बनेका थिए, त्यही माटोमा खेती गर्न लाउनुभयो। तब उहाँले बगैँचामा पूर्वपट्टि पहरा दिनलाई स्वर्गीय प्राणीहरू र एउटा चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो। कोही पनि जीवनको रूखको छेउ पुग्न नसकोस् भनी त्यसो गरिएको थियो।
उत्पत्ति 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 3:14-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू