YouVersion लोगो
खोज आइकन

उत्पत्ति 1:14-25

उत्पत्ति 1:14-25 NCV

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू जनाउने चिन्हहरू होऊन्। अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो। परमेश्‍वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो। परमेश्‍वरले तिनीहरूलाई आकाशको अन्तरमा पृथ्वीमा उज्यालो दिन; अनि दिन र रातमा प्रभुत्व गर्न; अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई राख्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। अनि साँझ पर्‍यो र बिहान भयो—चौथो दिन। फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानी जीवित प्राणीहरूले भरियोस् र पृथ्वीमाथि आकाशको अन्तरमा चाहिँ चराहरू उडून्।” यसरी परमेश्‍वरले समुद्रका आ-आफ्नै प्रकारका विशाल जलजन्तु र पानीमा झुण्ड-झुण्ड बनाएर पौडने तिनीहरूका आ-आफ्नै प्रकारका जीवित प्राणीहरू, र सबै पखेटा भएका चराहरूलाई आ-आफ्नै किसिमको गरी सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। परमेश्‍वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।” तब साँझ पर्‍यो र बिहान भयो—पाँचौँ दिन। फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्वीले विभिन्‍न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्‍न गरोस्।” तब त्यस्तै भयो। परमेश्‍वरले जङ्गली जनावरहरू, घरपालुवा जनावरहरू र जमिनमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूका आ-आफ्नै किसिमले बनाउनुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।

उत्पत्ति 1 पढ्नुहोस्