YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 1:14-25

उत्‍पत्ति 1:14-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌। र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो। अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई, दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो। साँझ पर्‍यो र बिहान भयो— चौथो दिन। अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।” यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो। अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।” अनि साँझ पर्‍यो र बिहान भयो— पाँचौँ दिन। अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो। परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 पढ्नुहोस्

उत्‍पत्ति 1:14-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “दिन र रात छुट्ट्याउन र दिन, वर्ष र धर्मिक चाडहरू जनाउन आकाशमा ज्‍योतिहरू देखा परून्। पृथ्वीमा ज्योति दिन तिनीहरू आकाशबाट चम्कून्।” अनि त्‍यस्‍तै भइहाल्‍यो। परमेश्‍वरले दिउँसो राज्‍य गर्न घाम र राती राज्‍य गर्न जून, दुईवटा ठूल्‍ठूला ज्‍योतिहरू बनाउनुभयो। उहाँले ताराहरू पनि बनाउनुभयो। उहाँले ती ज्‍योतिहरूलाई पृथ्‍वीमाथि चम्‍कन, दिन र रातमाथि राज्‍य गर्न र उज्‍यालो र अँध्‍यारोलाई छुट्ट्याउन आकाशमा राख्‍नुभयो। अनि त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो। साँझ पर्‍यो र बिहान भयो– चौथो दिन। तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानी थरी-थरीका जन्‍तुहरूले भरियोस्‌ अनि आकाश पंक्षीहरूले भरियोस्‌।” यसरी परमेश्‍वरले ठूल्‍ठूला जल-जन्‍तु, पानीमा बास गर्ने सबै थरीका जन्‍तुहरू र सबै प्रकारका चरा-चुरुङ्गीहरू सृष्‍टि गर्नुभयो। त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो। उहाँले तिनीहरू सबैलाई आशिष् दिनुभयो, पानीमा बास गर्नेहरूलाई बढ्दैगएर समुद्रमा भरिंदै जानू भन्‍नुभयो र चरा-चुरुङ्गीहरूलाई पनि बढ्दैजानू भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो– पाँचौँ दिन। तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्‍वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्‍पन्‍न गरोस्,” अनि त्‍यस्‍तै भइहाल्‍यो। यसरी परमेश्‍वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 पढ्नुहोस्

उत्‍पत्ति 1:14-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू जनाउने चिन्हहरू होऊन्। अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो। परमेश्‍वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो। परमेश्‍वरले तिनीहरूलाई आकाशको अन्तरमा पृथ्वीमा उज्यालो दिन; अनि दिन र रातमा प्रभुत्व गर्न; अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई राख्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। अनि साँझ पर्‍यो र बिहान भयो—चौथो दिन। फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानी जीवित प्राणीहरूले भरियोस् र पृथ्वीमाथि आकाशको अन्तरमा चाहिँ चराहरू उडून्।” यसरी परमेश्‍वरले समुद्रका आ-आफ्नै प्रकारका विशाल जलजन्तु र पानीमा झुण्ड-झुण्ड बनाएर पौडने तिनीहरूका आ-आफ्नै प्रकारका जीवित प्राणीहरू, र सबै पखेटा भएका चराहरूलाई आ-आफ्नै किसिमको गरी सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। परमेश्‍वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।” तब साँझ पर्‍यो र बिहान भयो—पाँचौँ दिन। फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्वीले विभिन्‍न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्‍न गरोस्।” तब त्यस्तै भयो। परमेश्‍वरले जङ्गली जनावरहरू, घरपालुवा जनावरहरू र जमिनमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूका आ-आफ्नै किसिमले बनाउनुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 पढ्नुहोस्

उत्‍पत्ति 1:14-25 पवित्र बाइबल (NERV)

तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरूले दिनहरूबाट रातहरूलाई छुट्‌याउनेछन्। यो उज्यालाहरूलाई विशेष चिन्हहरूको निम्ति प्रयोग गरिनेछन् र यिनीहरूले सभाहरू कहिले हुने बताउनेछन्। अनि यिनीहरूलाई दिनहरू र वर्षहरू बताउनमा प्रयोग गरिनेछ। यी उज्यालाहरू पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो। यसर्थ परमेश्वरले दुइवटा ठूला-ठूला प्रकाश पुञ्जहरू निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुन्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुन्ज बनाउनु भयो। परमेश्वरले ताराहरू पनि सृष्टि गर्नु भयो। पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुन्जहरू परमेश्वरले आकाशमा राख्नु भयो। यसकारण उहाँले तिनीहरूलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरूले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो। त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो। तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरूले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरूङ्गीहरू उड्न थाले। यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरू र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरू सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरू सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरू परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो। परमेश्वरले यी सबै प्राणीहरूलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरूले धेरै बच्चाहरू जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरूङ्गीहरूले धेरै-धेरै बच्चाहरू जन्माएर पृथ्वी भरियोस्। त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो। परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरू बनाओस्। त्यहाँ घरेलु पशुहरू, घस्रने जन्तुहरू अनि सबै प्रकारको जङ्गली जनावरहरू रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए। यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्तू जनावर, स-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 1 पढ्नुहोस्