YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 1:14-25

उत्‍पत्ति 1:14-25 NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌। र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो। अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई, दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो। साँझ पर्‍यो र बिहान भयो— चौथो दिन। अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।” यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो। अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।” अनि साँझ पर्‍यो र बिहान भयो— पाँचौँ दिन। अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो। परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।