YouVersion लोगो
खोज आइकन

उत्पत्ति 1:1-13

उत्पत्ति 1:1-13 NCV

आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्‍वरको आत्मा घुमिरहनुहुन्थ्यो। अनि परमेश्‍वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” तब उज्यालो भयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग गर्नुभयो। परमेश्‍वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भनेर नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो—पहिलो दिन। अनि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानीलाई पानीबाट अलग गर्नलाई पानीको बीचमा एउटा अन्तर होस्।” यसरी परमेश्‍वरले एउटा अन्तर बनाउनुभयो। अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। परमेश्‍वरले अन्तरलाई “आकाश” भनेर नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो—दोस्रो दिन। त्यसपछि परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भयो। परमेश्‍वरले सुक्खा जमिनलाई “भूमि” र जम्मा भएको पानीको भागलाई “समुद्र” भनेर नाम दिनुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “भूमिले वनस्पति, किसिम-किसिमका बिउ हुने बोटबिरुवा र बिउ हुने फल फल्ने रूखहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भयो। भूमिले वनस्पति उमार्‍यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्‍यो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। अनि साँझ पर्‍यो र बिहान भयो—तेस्रो दिन।

उत्पत्ति 1 पढ्नुहोस्