YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 1:1-13

उत्‍पत्ति 1:1-13 सरल नेपाली

सुरुमा जब परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो, पृथ्‍वी आकारबिनाको, उजाड र सुनसान थियो। पानीले सबै ठाउँ ढाकेको थियो र गहिरो अन्‍धकार थियो। अनि पानीमाथि परमेश्‍वरका आत्‍मा घुमिरहनुहुन्‍थ्‍यो। तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “उज्‍यालो होस्,” अनि उज्‍यालो भयो। त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो। तब उहाँले उज्‍यालोलाई अँध्‍यारोबाट अलग पार्नुभयो र उज्‍यालोलाई ‘दिन’ र अँध्‍यारोलाई ‘रात’ नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो– पहिलो दिन। तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानीलाई भाग गरेर बीचमा एउटा अन्‍तर होस् र त्‍यसले पानी अलग-अलग ठाउँमा छुट्ट्याइराखोस्।” अनि त्‍यसै भयो। यसरी परमेश्‍वरले एउटा अन्‍तर बनाउनुभयो र त्‍यसका मुनि र माथिको पानीलाई छुट्ट्याउनुभयो। त्‍यस अन्‍तरलाई उहाँले ‘आकाश’ नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो– दोस्रो दिन। तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशमुनिको पानी एकै ठाउँमा जम्‍मा होस् र सुक्‍खा जमिन देखा परोस्!” अनि त्‍यस्‍तै भयो। उहाँले सुक्‍खा जमिनलाई ‘पृथ्‍वी’ र जम्‍मा भएको पानीलाई ‘समुद्र’ नाम दिनुभयो। त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो। तब उहाँले आज्ञा गर्नुभयो, “पृथ्‍वीले सबै प्रकारका रूखपात, अन्‍न र फल फलाउने बोटहरू उमारोस्।” अनि त्‍यस्‍तै भयो। यसरी पृथ्‍वीले हरेक प्रकारका रूखपात उमार्‍यो र यो देखेर परमेश्‍वर खुसी हुनुभयो। साँझ पर्‍यो र बिहान भयो– तेस्रो दिन।

उत्‍पत्ति 1 पढ्नुहोस्