YouVersion लोगो
खोज आइकन

एज्रा 6:7-16

एज्रा 6:7-16 NCV

तिमीहरूले परमेश्‍वरको मन्दिरको काममा बाधा नगर। यहूदीहरूका राज्यपाल र यहूदी प्रधानहरूले परमेश्‍वरको भवन त्यसकै पुरानो स्थानमा पुनर्निर्माण गरून्। यसबाहेक परमेश्‍वरको भवन निर्माणमा लागेका यी यहूदीहरूका प्रधानहरूका लागि तिमीहरूले के गर्नुपर्छ भनी म यो आदेश दिँदछु: यूफ्रेटिसपारिबाट राजकोषमा जम्मा भएको राजस्वबाट यी मानिसहरूको खर्च पूर्ण रूपले तिरिनुपर्छ; ताकि यो पुनर्निर्माण गर्ने काम नरोकियोस्। तिनीहरूलाई चाहिएका जुनसुकै कुरा—साँढेहरू, भेडाहरू, थुमाहरू, स्वर्गको परमेश्‍वरलाई होमबलिका निम्ति चाहिने भेडाहरू, गहुँ, नुन, दाखमद्य र जैतुनको तेल जे जति कुराहरू यरूशलेममा पुजारीहरूले माग गर्छन्, तिनीहरूलाई प्रत्येक दिन नबिर्सिकन दिनुपर्छ; ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरलाई खुशी पार्न बलिदानहरू चढाउन सकून्। अनि राजा र तिनका छोराहरूका भलाइका निम्ति प्रार्थना गरून्। अनि म यो पनि आदेश दिँदछु, यदि कसैले यस उर्दीलाई परिवर्तन गर्छ भने त्यसको घरबाट एउटा खाँबो उखेलेर त्यसलाई त्यही खाँबोमा टाँगियोस्। अनि यस अपराधको निम्ति त्यसको घर भताभुङ्ग पारेर ढुङ्गाहरूको थुप्रो बनाइयोस्। यरूशलेमको मन्दिरलाई नष्‍ट गर्न, अथवा यस उर्दीलाई परिवर्तन गर्न कुनै राजा, अथवा कुनै पनि मान्छेले हात उठायो भने त्यही परमेश्‍वर जसले आफ्नो नामलाई त्यहाँ स्थापित गर्नुभएको छ, उहाँले तिनीहरूलाई नष्‍ट पारून्। म दाराले यो आदेश दिएको छु। यो होसियारीपूर्वक पालन गरियोस्। दारा राजाले आदेश दिएका हुनाले यूफ्रेटिस पारिका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका प्रान्तका मित्रहरूले साह्रै होसियारीसाथ यो काम गरे। यसकारण यहूदीहरूका अगुवाहरूले अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरियाका अगमवाणीअनुसार निर्माणको काम निरन्तर प्रगति गर्दैगए। तिनीहरूले परमेश्‍वरको आदेशअनुसार र परसीयाका राजाहरू कोरेस, दारा र अर्तसास्तका आदेशअनुसार मन्दिर पुनर्निर्माणको काम समाप्‍त गरे। दारा राजाको शासनकालको छैटौँ वर्षको अदार महिनाको तेईसौँ दिनमा, मन्दिरको काम पूरा भयो। त्यसपछि इस्राएलका मानिसहरू, पुजारीहरू, लेवीहरू र निर्वासनबाट फर्कने यहूदीहरूले ठूलो रमाहटकासाथ परमेश्‍वरको भवन अर्पण गरे।

एज्रा 6 पढ्नुहोस्