YouVersion लोगो
खोज आइकन

एज्रा 6:7-16

एज्रा 6:7-16 NNRV

तिमीहरूले परमेश्‍वरका मन्‍दिरको काममा बाधा नदिनू। तिमीहरूले यहूदीहरूका राज्‍यपाल र तिनीहरूका धर्म-गुरुहरूलाई परमेश्‍वरको भवन पुनर्निर्माण गर्न छोड़िदिनू। तिनीहरूले त्‍यो त्‍यसको पहिलेकै स्‍थानमा बनाऊन्‌। “परमेश्‍वरको त्‍यो भवन पुनर्निर्माण गरिओस्‌ भनी तिमीहरूले ती यहूदी धर्म-गुरुहरूका निम्‍ति के गर्नुपर्छ सो पनि म तिमीहरूलाई हुकुम गर्दैछु। त्‍यो काम नरोकिओस्‌ भनेर यूफ्रेटिस पारिको प्रान्‍तमा उठेको करबाट, राजकीय कोषबाट तिनीहरूको खर्च भर्नू। अनि तिनीहरूलाई चाहिएका जेसुकै कुरा तिमीहरूले दिनहुँ नबिराईकन दिनू, अर्थात्‌ स्‍वर्गका परमेश्‍वरलाई चढ़ाउने होमबलिका निम्‍ति बाछाहरू, भेड़ाहरू अथवा थुमाहरू, अथवा गहूँ, नून, दाखमद्य, तेल, जस्‍तो यरूशलेमका पूजाहारीहरूले माग्‍छन्‌ ती दिनू, कि तिनीहरूले स्‍वर्गका परमेश्‍वरलाई मन पर्ने बलिदान चढ़ाऊन्‌ र राजा र तिनका छोराहरूको दीर्घायुको निम्‍ति तिनीहरूले प्रार्थना गरिदेऊन्। “त्‍यसबाहेक, म यस्‍तो हुकुम दिँदैछु कि जसले यस उर्दीलाई परिवर्तन गर्ला त्‍यसको घरबाट एउटा खम्‍बा उखेलेर त्‍यसलाई त्‍यही खम्‍बामा उनिनेछ। यस अपराधको कारण त्‍यसको घर टुक्राटाक्री भई ढुङ्गाको थुप्रो होस्‌। आफ्‍नो नाउँको निम्‍ति त्‍यस स्‍थानलाई आफ्‍नो वासस्‍थान बनाउनुहुने परमेश्‍वरले यस उर्दीलाई परिवर्तन गर्ने वा यरूशलेममा परमेश्‍वरको त्‍यस भवनलाई नष्‍ट गर्न आँट गर्ने कुनै पनि राजा वा मानिसलाई विध्‍वंस गरून्‌। म, दारा राजाले यो उर्दी निकालेको हुँ। त्‍यो अक्षरश: पूरा गरिओस्‌।” तब दारा राजाले उनीहरूलाई दिएको आदेश यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपाल तत्तनै, शत्तर-बोज्‍नै र उनीहरूका सहयोगीहरूले अक्षरश: पालन गरे। फलस्‍वरूप यहूदी धर्म-गुरुहरू पुनर्निर्माण काममा लागिरहे, र हाग्‍गै अगमवक्ता र इद्दोको वंशका जकरियाको अगमवाणीद्वारा तिनीहरूको उन्‍नति बढ्‌दैगयो। इस्राएलका परमेश्‍वरको आज्ञाअनुसार र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्‍तका उर्दीअनुसार तिनीहरूले मन्‍दिरको पुनर्निर्माण गरेर काम सिद्ध्याए दारा राजाको छैटौँ वर्षको अदार महिनाको तेस्रो दिनमा मन्‍दिरको काम सम्‍पन्‍न भयो। त्‍यसपछि इस्राएलका जनता, अर्थात्‌ पूजाहारीहरू, लेवीहरू र निर्वासनबाट फर्केर आएका अरू सबैले ठूलो रमाहटसाथ परमेश्‍वरका भवनको समर्पण-सेवा मनाए।