“ ‘तिमीहरूले उत्तराधिकारका रूपमा देशलाई विभाजन गर्दा जमिनको एक भाग पवित्र जिल्ला याहवेहका निम्ति भेटीको रूपमा चढाउनू। त्यो सम्पूर्ण इलाका पच्चीस हजार क्यूबिट लम्बाइ र बीस हजार क्यूबिट चौडाइको पवित्र इलाका हुनेछ। पवित्र इलाकामा पाँच सय क्यूबिट वर्गकारको खण्ड पवित्रस्थानको निम्ति हुनेछ, जसको चारैतिर पचास क्यूबिटको खुला ठाउँ रहनेछ। त्यस पवित्र जिल्लामा एउटा पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको भाग नापेर छुट्ट्याउनू। यसमा पवित्रस्थान र महा-पवित्रस्थान हुनेछ। त्यो देशको पवित्र इलाका पुजारीहरू अर्थात् पवित्रस्थानमा सेवा गर्नेहरूका निम्ति हुनेछ, जो याहवेहको सेवा गर्नका निम्ति याहवेहको नजिक आउँछन्। यो पुजारीहरूका घरहरूका निम्ति र पवित्रस्थानका निम्ति एउटा पवित्र ठाउँ हुनेछ। पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको एउटा इलाका लेवीहरूका निम्ति हुनेछ, जुन इलाका मन्दिरमा सेवा गर्ने लेवीहरू बसोबास गर्ने सहरको निम्ति तिनीहरूको अधिकारको रूपमा हुनेछ। “ ‘तिमीहरूले सहरलाई यरूशलेमको सम्पत्तिको रूपमा पवित्र भागसित जोडिएको पाँच हजार क्यूबिट चौडाइ र पच्चीस हजार क्यूबिट लम्बाइको अर्को इलाका दिनू; त्यो इलाका इस्राएलको सम्पूर्ण घरानाको निम्ति हुनेछ। “ ‘इस्राएलका राजकुमारले पवित्र जिल्ला र सहरको सम्पत्तिले बनिएको इलाकाको चारैतिर घेरिएको छेउको सिमानामा जमिन पाउनेछ। त्यो पश्चिम भागबाट पश्चिमतिर र पूर्व भागबाट पूर्वतिर फैलिएर जानेछ; अनि यो सम्पत्तिको भाग कुनै पनि कुलको जग्गाको भागको बराबर लम्बाइ हुनेछ, र पूर्वी सिमानाबाट पश्चिमी सिमानासम्म फैलिएर जानेछ। यो जग्गा इस्राएलमा तिनको अधिकारमा हुनेछ। अनि मेरा राजकुमारले अब उसो फेरि मेरा प्रजा इस्राएलीहरूलाई अत्याचार गर्नेछैन; तर इस्राएलका घरानालाई तिनीहरूका कुलअनुसार देश अधिकार गर्न दिनेछ। “ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका राजकुमारहरू हो, तिमीहरूले अति नै गरेका छौ! तिमीहरूले आफ्ना हिंसा र अत्याचार त्यागिदेओ; अनि जे न्यायसङ्गत र धार्मिक छन्, त्यो काम गर। मेरा मानिसहरूलाई तिनीहरूका आफ्नो अधिकारको ठाउँबाट निकालिदिने काम बन्द गर, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। तिमीहरूले ठिक तराजु, ठिक एपा र ठिक बाथ प्रयोग गर्नुपर्छ। तिमीहरूका एपा र बाथ एकै नापका होऊन्। ती दुईको नाप होमरको दशांशको भागअनुसार बराबर गर्नुपर्नेछ; दुवैका निम्ति होमर नै मापनको स्तर राखियोस्। एक शेकेलमा बीस गेरा होस्। बीस शेकेलमा पच्चीस शेकेल र त्यसमा पन्ध्र शेकेल जोड्दा एक मीना हुनेछ। “ ‘यो तिमीहरूले चढाउनुपर्ने विशेष भेटीको भाग हो: गहुँको प्रत्येक होमरबाट एपाको छैटौँ भाग र जौको प्रत्येक होमरबाट एपाको छैटौँ भाग दिनू। लिटरबाट नापिएको जैतुन तेलको तोकिएको भाग प्रत्येक कोरबाट बाथको दसौँ भाग (जसमा दश बाथ अथवा एक होमर हुन्छ; किनकि दश बाथ बराबर एक होमर हुन्छ)। साथै तिमीहरूले इस्राएलका प्रशस्त पानी भएको प्रत्येक हरियो खर्कका दुई सयको बगालबाट एउटा भेडा पनि लैजानुपर्छ। यी मानिसहरूका निम्ति प्रायश्चित गर्नलाई अन्नबलि, होमबलि र मेलबलिको निम्ति प्रयोग गरिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
इजकिएल 45 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 45:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू