YouVersion लोगो
खोज आइकन

प्रस्थान 8:20-32

प्रस्थान 8:20-32 NCV

फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “बिहानै उठ् र फारो नदीमा जाँदा त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँमाथि र तेरा अधिकारीहरूमाथि, तेरा मानिसहरूमाथि, र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु। इजिप्टियनहरूका घरहरू र तिनीहरू बसेका जमिन पनि झिँगाहरूले भरिनेछ। “ ‘तर त्यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेनको प्रान्तप्रति बेग्लै किसिमले व्यवहार गर्नेछु; त्यहाँ झिँगाको कुनै हुल हुनेछैन, र तैँले म नै याहवेह, यस देशमा छु भनी जान्‍नेछस्। म मेरा मानिसहरू र तेरा मानिसहरूको बीचमा भिन्‍नता पार्नेछु। यो अलौकिक चिन्ह भोलि हुनेछ।’ ” अनि याहवेहले त्यसै गर्नुभयो। फारोको महलमा र तिनका अधिकारीहरूका घरहरूभित्र धेरै मात्रामा झिँगाका हुलका हुल खनिए; र इजिप्टको जमिन झिँगाहरूद्वारा नाश भयो। तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “जाओ, र यस देशभित्रै आफ्ना परमेश्‍वरका निम्ति बलिदान चढाओ।” तर मोशाले भने, “यसो गर्नु उचित नहोला। हामीले याहवेह हाम्रा परमेश्‍वरलाई चढाएको बलिदान इजिप्टियनहरूले घृणा गर्छन्। हामीले तिनीहरूका दृष्‍टिमा घृणित बलिदान चढायौँ भने, के तिनीहरूले हामीलाई ढुङ्गाले हान्‍नेछैनन् र? हामीलाई याहवेह हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ तीन दिनको यात्रा गरेर उजाडस्थानमा गएर उहाँका निम्ति बलिदान चढाउनेछौँ।” फारोले भने, “म तिमीहरूलाई उजाडस्थानमा गएर याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति बलिदान चढाउन जान दिनेछु; तर धेरै टाढा नजाओ। अब मेरा निम्ति प्रार्थना गरिदेओ।” मोशाले जवाफ दिए, “म तपाईंबाट जाने बित्तिकै याहवेहसित प्रार्थना गर्नेछु, र भोलि यी सबै झिँगाका हुलहरू तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन्। तर यी मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउन जान नदिएर फारोले फेरि छलपूर्ण काम नगर्न निश्‍चय गर्नुहोला।” तब मोशा फारोकहाँबाट गए, र याहवेहलाई प्रार्थना चढाए। याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो: ती झिँगाका हुलहरू फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूलाई छोडेर गइहाले; एउटै झिँगा पनि बाँकी रहेन। तर यस पटक पनि फारोले आफ्नो हृदय कठोर पारे, र मानिसहरूलाई जान दिएनन्।

प्रस्थान 8 पढ्नुहोस्