YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 8:20-32

प्रस्‍थान 8:20-32 पवित्र बाइबल (NERV)

परमप्रभुले मोशालाई भन्नु भयो, “बिहान उठ अनि फिरऊनकहाँ जाऊ। फिरऊन नदीमा जानेछ। उसलाई भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जानदेऊ। यदि तपाईंले मेरो मानिसहरूलाई जान दिनु हुन्न भने म झींगाहरू तिमी, तिम्रा अधिकारीहरू र तिम्रा मानिसहरूको विरूद्धमा पठाउनेछु। झींगाहरू तिम्रो र तिम्रा अधिकारीहरूका घरहरूमा जानेछन्। मिश्रका सबै घरहरू झींगाले भरिनेछन्। जमीन पनि झींगाले भरिनेछ। तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु। यसर्थ भोलि म अरूलाई भन्दा मेरो मानिसहरूलाई अलग प्रकारले व्यवहार गर्छु। मेरो प्रमाण त्यही हुनेछ।’” त्यसपछि परमप्रभुले जे भन्नु भएको थियो, त्यही भयो। धेरै-धेरै झींगाहरू मिश्रमा आए। फिरऊन र तिनका अधिकारीहरूको घर झींगाले भरिए अनि मिश्र देश भरी नै झींगै-झींगा भए। झींगाहरूले देश नै नष्ट पारिरहेका थिए। त्यसपछि फिरऊनले मोशा र हारूनलाई बोलाएर तिनीहरूलाई भने, “यही भूमिमा तिमीहरूले आफ्नो परमेश्वरलाई बलि चढाओ।” तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन। परमप्रभु हाम्रा परमेश्वरलाई पशु बलिदान चढाउँदा मिश्र देशका मानिसहरूले भयानक कुरा हो भनी सम्झन्छन्। यदि यहाँ हामीले बलिदान चढायौं भने मिश्रदेशका मानिसहरूले देख्नेछन् र तिनीहरूले हामीमाथि ढुङ्गा हिर्काउने छन्। हाम्रा परमप्रभु परमेश्वरले आज्ञा गर्नु भए झैं परमप्रभुलाई बलिदान चढाउनु हामीलाई तीन दिन मरुभूमिमा यात्रा गर्नु दिनुहोस्।” यसर्थ फिरऊनले भने, “म परमप्रभु तिमीहरूका परमेश्वरलाई बलि चढाउन मरुभूमिमा जान दिनेछु। तर तिमीहरू ज्यादै टाढा जान पाउँने छैनौ अहिले जाऊ अनि मेरो निम्ति प्रार्थना गर।” मोशाले भने, “म बिदा लिन्छु र भोलिनै तिमी, तिम्रा मानिसहरू र तिम्रा अधिकारीहरूका घरबाट झीगाहरू हटाइ दिनु भनी परमप्रभुसित प्रार्थना गर्नेछु। तिमीले परमप्रभुलाई बलि चढाउनमा मानिसहरूलाई बाधा दिनु हुँदैन।” त्यसपछि मोशाले फिरऊनबाट बिदा लिए अनि परमप्रभुलाई प्रार्थना गरे। मोशाले विन्ती गरे जस्तै नै परमप्रभुले गर्नु भयो। परमप्रभुले फिरऊन, उसका अधिकारीहरू र उसका मानिसहरूका घरहरूबाट झींगाहरू हटाइदिनु भयो। झींगा एउटा पनि रहेन। तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 8 पढ्नुहोस्

प्रस्‍थान 8:20-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्‍यसको सामु हाजिर हो। त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे। मेरा प्रजालाई जान दिइनस्‌ भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्‌। “‘तर त्‍यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्‍यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्‍नेछस्‌ कि म, परमप्रभु यस देशमा छु। यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्‍नता ल्‍याउनेछु। यो आश्‍चर्यपूर्ण चिन्‍ह भोलि हुनेछ’।” अनि परमप्रभुले त्‍यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो। तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू गएर यही देशभित्र आफ्‍ना परमेश्‍वरको निम्‍ति बलि चढ़ाओ।” तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्‍वरको निम्‍ति हामीले चढ़ाउने बलिदेखि मिश्रीहरू घीन मान्‍छन्‌। मिश्रीहरूकै आँखाका सामुन्‍ने उनीहरूले घीन गर्ने बलि हामीले चढ़ायौं भनेता उनीहरूले हामीलाई ढुङ्गाले नहान्‍लान्‌? हामी तीन दिनको बाटो गएर उजाड़-स्‍थानमा परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्‍ति हामीले बलि चढ़ाउनुपर्छ।” फारोले भने, “म तिमीहरूलाई उजाड़-स्‍थानमा परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति बलि चढ़ाउनलाई जान त दिनेछु, तर धेरै टाढ़ाचाहिँ नजाओ। अब मेरो निम्‍ति बिन्‍ती चढ़ाइदेओ।” मोशाले भने, “म तपाईंबाट बाहिर जानासाथ, फारो र तपाईंका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झीँगाका हूल हटून्‌ भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्‍ति बलि गर्न जान नदिएर फारोले फेरि-फेरि छल नगर्नुहोला।” तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्‍ती गरे। अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे। तर यस पल्‍ट पनि फारोले आफ्‍नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्‌।

शेयर गर्नुहोस्
प्रस्‍थान 8 पढ्नुहोस्

प्रस्‍थान 8:20-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “बिहानै उठ् र फारो नदीमा जाँदा त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँमाथि र तेरा अधिकारीहरूमाथि, तेरा मानिसहरूमाथि, र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु। इजिप्टियनहरूका घरहरू र तिनीहरू बसेका जमिन पनि झिँगाहरूले भरिनेछ। “ ‘तर त्यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेनको प्रान्तप्रति बेग्लै किसिमले व्यवहार गर्नेछु; त्यहाँ झिँगाको कुनै हुल हुनेछैन, र तैँले म नै याहवेह, यस देशमा छु भनी जान्‍नेछस्। म मेरा मानिसहरू र तेरा मानिसहरूको बीचमा भिन्‍नता पार्नेछु। यो अलौकिक चिन्ह भोलि हुनेछ।’ ” अनि याहवेहले त्यसै गर्नुभयो। फारोको महलमा र तिनका अधिकारीहरूका घरहरूभित्र धेरै मात्रामा झिँगाका हुलका हुल खनिए; र इजिप्टको जमिन झिँगाहरूद्वारा नाश भयो। तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “जाओ, र यस देशभित्रै आफ्ना परमेश्‍वरका निम्ति बलिदान चढाओ।” तर मोशाले भने, “यसो गर्नु उचित नहोला। हामीले याहवेह हाम्रा परमेश्‍वरलाई चढाएको बलिदान इजिप्टियनहरूले घृणा गर्छन्। हामीले तिनीहरूका दृष्‍टिमा घृणित बलिदान चढायौँ भने, के तिनीहरूले हामीलाई ढुङ्गाले हान्‍नेछैनन् र? हामीलाई याहवेह हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ तीन दिनको यात्रा गरेर उजाडस्थानमा गएर उहाँका निम्ति बलिदान चढाउनेछौँ।” फारोले भने, “म तिमीहरूलाई उजाडस्थानमा गएर याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति बलिदान चढाउन जान दिनेछु; तर धेरै टाढा नजाओ। अब मेरा निम्ति प्रार्थना गरिदेओ।” मोशाले जवाफ दिए, “म तपाईंबाट जाने बित्तिकै याहवेहसित प्रार्थना गर्नेछु, र भोलि यी सबै झिँगाका हुलहरू तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन्। तर यी मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउन जान नदिएर फारोले फेरि छलपूर्ण काम नगर्न निश्‍चय गर्नुहोला।” तब मोशा फारोकहाँबाट गए, र याहवेहलाई प्रार्थना चढाए। याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो: ती झिँगाका हुलहरू फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूलाई छोडेर गइहाले; एउटै झिँगा पनि बाँकी रहेन। तर यस पटक पनि फारोले आफ्नो हृदय कठोर पारे, र मानिसहरूलाई जान दिएनन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 8 पढ्नुहोस्

प्रस्‍थान 8:20-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मोशालाई भन्‍नुभयो, “भोलि बिहानै गएर राजा नदीमा जाँदा उसलाई भेट् र भन्, ‘परमप्रभु भन्‍नुहुन्‍छ, मेरा प्रजालाई जान दे र तिनीहरूले मलाई पुजून्। तैँले मेरा कुरा मानिनस्‌ भने म तेरो घरमा, तेरा भारदारहरू र प्रजाको घरमा झिँगा पठाएर तँलाई दण्‍ड दिनेछु। मिश्रीहरूका घर, जमिन सबै झिँगाले भरिनेछन्, यो मेरो चेतावनी सुन्‌। तर म त्‍यो दिन मेरो प्रजा बसेको गोशेन प्रदेशलाई जोगाउनेछु र त्‍यहाँ झिँगा हुनेछैन। म त्‍यसो गर्नेछु र तैँले जान्‍नेछस्‌ कि तेरो देशमा म परमप्रभुले नै यी कामहरू गरिरहेको छु। म तेरा र मेरा प्रजाहरूलाई अलग-अलग छुट्ट्याउनेछु। यो अचम्‍मको काम भोलि हुनेछ’।” परमप्रभुले राजमहल र भारदारहरूका घरमा हुलका हुल झिँगाहरू पठाउनुभयो। झिँगाले सारा मिश्रदेशलाई हैरान पार्‍यो। तब राजाले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू जाओ र यही देशभित्र आफ्‍ना परमेश्‍वरकहाँ बलि चढाओ।” मोशाले जवाफ दिए, “त्‍यसो गर्न ठीक हुनेछैन किनभने हामीले हाम्रा परमेश्‍वर परमप्रभुकहाँ पशुहरूको बलि चढाएको मिश्रीहरूले हेर्न सक्‍नेछैनन्। हामीले मिश्रीहरूका आँखा सामुन्‍ने यी पशुहरूलाई बलि चढाउन थाल्‍यौं भने तिनीहरूले हामीलाई ढुङ्गाले हिर्काई मार्नेछन्। हामी तीन दिनको बाटो उजाड-स्थानमा गएर त्‍यहाँ हाम्रा परमेश्‍वर परमप्रभुकहाँ बलि चढाउनेछौं, उहाँले हामीलाई त्‍यस्‍तै आज्ञा गर्नुभएको छ।” राजाले भने, “तिमीहरू साह्रै टाढा जाँदैनौ भने म तिमीहरूलाई गएर आफ्‍ना परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ बलि चढाउने अनुमति दिनेछु। मेरो लागि पनि प्रार्थना गरिदेओ।” मोशाले उत्तर दिए, “म यहाँबाट गएर झिँगाहरू तपाईं, तपाईंका भारदार र प्रजादेखि भोलि नै हटोस् भनी परमप्रभुसँग प्रार्थना गर्नेछु। तर तपाईंले फेरि छलेर हामीलाई बलि चढाउन जानदेखि नरोक्‍नुहोला।” मोशाले राजाबाट बिदा भएर परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले मोशाको प्रार्थनाअनुसार गर्नुभयो। झिँगाहरू राजा, तिनका भारदार र प्रजादेखि हटे। एउटा पनि झिँगा त्‍यहाँ रहेन। तर यस पालि पनि राजा ढिट भए र फेरि पनि इस्राएलीहरूलाई जान दिएनन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 8 पढ्नुहोस्