YouVersion लोगो
खोज आइकन

प्रस्थान 5:15-23

प्रस्थान 5:15-23 NCV

तब इस्राएली नाइकेहरू गएर फारोकहाँ उजुर गरे: “हजुरले आफ्ना सेवकहरूसँग किन यस्तो व्यवहार गर्नुहुन्छ? हजुरका सेवकहरूलाई पराल दिइँदैन, र पनि हामीलाई ‘इँटा बनाओ’ भनी आज्ञा गरिन्छ। हजुरका सेवकहरू कुटाइ पनि खाँदैछन्, तर अपराध भने हजुरकै मानिसहरूको छ।” फारोले भने, “तिमीहरू अल्छे छौ, अल्छे! यसैकारण तिमीहरू ‘हामीलाई याहवेहका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनिबस्छौ। अब फर्केर काममा लाग। तिमीहरूलाई कत्ति पनि पराल दिइनेछैन; तर तिमीहरूले तोकिएको संख्यामा इँटाहरू बनाउनैपर्नेछ।” जब तिनीहरूलाई तिमीहरूले “प्रतिदिन बनाउनुपर्ने इँटाको संख्या घटाइनेछैन” भनियो, तब इस्राएली नाइकेहरूले तिनीहरू सङ्कटमा परेका थाहा पाए। त्यसपछि तिनीहरू फारोकहाँबाट निस्के, र तिनीहरूले मोशा र हारून तिनीहरूलाई भेट्न पर्खिरहेका भेटे। अनि तिनीहरूले भने, “याहवेहले तपाईंहरूमाथि दृष्‍टि गरून् र न्याय देऊन्! तपाईंहरूले हामीलाई फारो र उनका अधिकारीहरूको अगि घृणित बनाउनुभयो, र हामीलाई मार्नका निम्ति तिनीहरूका हातमा तरवार राखिदिनुभएको छ।” मोशा फर्केर याहवेहकहाँ गएर भने, “हे प्रभु, तपाईंले यस प्रजामाथि किन सङ्कष्‍ट ल्याइदिनुभयो? के तपाईंले मलाई यसकै लागि पठाउनुभएको हो? म फारोकहाँ तपाईंको नाममा बोल्न गएकै बेलादेखि तिनले यी प्रजामाथि सङ्कष्‍ट ल्याएका छन्; अनि तपाईंले आफ्नो प्रजालाई छुटकारा दिनुभएको छैन।”

प्रस्थान 5 पढ्नुहोस्