तब इस्राएली नाइकेहरूले फारोकहाँ गएर बिन्ती चढ़ाए, “हजूरका दासहरूप्रति हजूरले किन यस्तो व्यवहार गर्नुहुन्छ? तिनीहरूले हजूरका दासहरूलाई पराल पनि दिँदैनन्, तर तिनीहरू हामीलाई ‘इँट बनाओ’ पनि भन्छन्। हामी हजूरका दासहरू कुटाइ खाँदैछौं, तर कसूर त हजूरकै मानिसहरूको छ।” तर फारोले भने, “तिमीहरू अल्छे छौ, अल्छे! यसैकारण तिमीहरू भन्छौ, ‘हामीलाई परमप्रभुको निम्ति बलि चढ़ाउन जान दिनुहोस्।’ अब गएर काम गर। परालचाहिँ तिमीहरूलाई दिइनेछैन, तापनि इँटको तोकेको संख्या तिमीहरूले दिनैपर्छ।” “दिनहुँ दिनुपर्ने इँटको संख्या कम हुनु हुँदैन” भनेको सुनेर इस्राएली नाइकेहरूले सङ्कष्टमा परेका थाहा पाए। जब तिनीहरू फारोकहाँबाट निस्के तब तिनीहरूले मोशा र हारूनलाई बाटैमा पर्खिरहेका भेट्टाए। तिनीहरूले भने, “परमप्रभुले तपाईंहरूको इन्साफ गरून्, किनभने तपाईंहरूले फारो र उनका चाकरहरूको दृष्टिमा हामीलाई तिरस्कृत तुल्याउनुभएको छ, र हामीलाई काट्न उनीहरूका हातमा तरवारै दिनुभएको छ।” तब मोशा परमप्रभुकहाँ फर्केर गए, र भने, “हे प्रभु, तपाईंले यी मानिसहरूमा किन सङ्कष्ट ल्याउनुभएको छ? यसैको लागि मलाई पठाउनुभएको हो? म तपाईंको नाउँमा बोल्नलाई फारोकहाँ गएदेखि यता उनले यी मानिसहरूको खराबी गर्न लागेका छन्। तर तपाईंले आफ्ना मानिसहरूलाई छुटकारा पनि दिनुभएको छैन।”
प्रस्थान 5 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 5:15-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू