YouVersion लोगो
खोज आइकन

एफिसी 6:10-24

एफिसी 6:10-24 NCV

अन्त्यमा प्रभुमा र उहाँको शक्‍तिशाली सामर्थ्यमा बलिया होओ। परमेश्‍वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्‍तिहरूको विरुद्धमा खडा हुन सक। किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्‍तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्‍टताका आत्मिकी सेनाहरूका विरुद्ध हो। यसकारण परमेश्‍वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ। यसकारण कम्मरमा सत्यताको पेटीले बाँधेर, धार्मिकताको छाती-पाता लगाएर खडा होऊ; अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ। यी सबै कुराबाहेक विश्‍वासको ढाल हातमा उठाओ, जसद्वारा तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ। शिरमा मुक्‍तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो। अनि सब अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्विन्तीसहित आत्मामा प्रार्थना गर। यी कुरालाई सम्झदै मनमा सचेत भएर प्रभुका सबै सन्तहरूका निम्ति सधैं प्रार्थना गर। मेरो निम्ति पनि प्रार्थना गर, जब म बोल्छु, सुसमाचारको रहस्य निर्धक्‍कसँग भन्‍नलाई मलाई शब्दहरू दिइयोस्, जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ, भनी प्रार्थना गर। मेरो प्यारो भाइ र प्रभुमा विश्‍वासयोग्य सेवक, तुखिकसले तिमीहरूलाई सबै कुरा भन्‍नेछन्; र तिमीहरूले मेरा सबै अवस्थाबारे जान्‍नेछौ। मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाउँदैछु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्‍न सक र उनले तिमीहरूलाई उत्साहित गराऊन्। दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट विश्‍वाससहितको प्रेम र शान्ति। हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेमले प्रेम गर्नेहरू सबैमा अनुग्रह रहोस्।

एफिसी 6 पढ्नुहोस्

एफिसी 6:10-24 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति