YouVersion लोगो
खोज आइकन

एफिसी 3:8-21

एफिसी 3:8-21 NCV

यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्ति भए तापनि ख्रीष्‍टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो। अनि सबै थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरले युगौँयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो। स्वर्गीय स्थानहरूमा भएका शासकहरू तथा अधिकारीहरूलाई परमेश्‍वरको धेरै गुना ज्ञान अब मण्डलीद्वारा प्रकट होस् भन्‍ने उहाँको अभिप्राय थियो। जुन अभिप्रायचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो। उनै प्रभुमा, र उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र निश्‍चयतासाथ हामी परमेश्‍वरको उपस्थितिमा पुग्नसक्छौँ। यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेका कष्‍टहरूका कारण निरुत्साहित नहोओ, यी त तिमीहरूका गौरव हुन्। यसैकारण म पिताको सामु घुँडा टेक्दछु, जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाम राखिएको छ। म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्; ताकि ख्रीष्‍ट तिमीहरूका हृदयमा विश्‍वासद्वारा बास गरिरहून्। अनि म यो पनि प्रार्थना गर्छु, तिमीहरू प्रेममा जरा गाडेका र स्थापित हुँदै प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्‍टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्ति पाउन सक; अनि सबै समझभन्दा बाहिरको ख्रीष्‍टको प्रेम जान्‍न सक, ताकि परमेश्‍वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक। अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ; उहाँलाई नै मण्डली र ख्रीष्‍ट येशूमा पुस्ता-पुस्तासम्म सदासर्वदा महिमा भइहोस्! आमेन।

एफिसी 3 पढ्नुहोस्