एफिसी 3:8-21

एफिसी 3:8-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सबै सन्‍तहरूमा म अत्‍यन्‍त तुच्‍छ भए तापनि ख्रीष्‍टको अगम्‍य सम्‍पत्तिको सुसमाचार अन्‍यजातिहरूलाई प्रचार गरूँ भनेर मलाई यो अनुग्रह दिइयो। सबै कुरा सृजनुहुने परमेश्‍वरमा युग-युगदेखि लुप्‍त रहेका रहस्‍यको योजना के हो, सो सबै मानिसलाई खुलस्‍त गराउने अनुग्रह मलाई दिइयो, ताकि यसरी मण्‍डलीद्वारा परमेश्‍वरका विभिन्‍न किसिमका ज्ञान स्‍वर्गीय स्‍थानहरूमा शासकहरू र अख्‍तियारवालाहरूका माझमा प्रकट गरिओस्‌। योचाहिँ ख्रीष्‍ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्‍त उद्देश्‍यअनुसार थियो। उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्‍वरमा प्रवेश पाउँछौं। यसैकारण म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूका निम्‍ति मैले भोगिरहेको कष्‍टमा तिमीहरू हताश नहोओ। यी तिमीहरूका गौरव हुन्‌। यसैकारण म पिताको सामने आफ्‍ना घुँड़ा टेक्‍तछु, जसद्वारा स्‍वर्ग र पृथ्‍वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ। म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्‍पत्तिअनुसारको शक्तिले उहाँका आत्‍माद्वारा भित्री मनुष्‍यत्‍वमा तिमीहरूलाई शक्तिशाली पारून्, र विश्‍वासद्वारा ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर, सबै सन्‍तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्‍ने शक्ति प्राप्‍त गर्न सक, र ज्ञानलाई माथ गर्ने ख्रीष्‍टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्‍वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ। उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्‍दा ज्‍यादै प्रशस्‍त मात्रामा गर्न सक्‍नुहुन्‍छ, उहाँलाई नै पुस्‍ता-पुस्‍तासम्‍म मण्‍डली र ख्रीष्‍ट येशूमा सदासर्वदा महिमा होस्‌। आमेन।

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्

एफिसी 3:8-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्ति भए तापनि ख्रीष्‍टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो। अनि सबै थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरले युगौँयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो। स्वर्गीय स्थानहरूमा भएका शासकहरू तथा अधिकारीहरूलाई परमेश्‍वरको धेरै गुना ज्ञान अब मण्डलीद्वारा प्रकट होस् भन्‍ने उहाँको अभिप्राय थियो। जुन अभिप्रायचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो। उनै प्रभुमा, र उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र निश्‍चयतासाथ हामी परमेश्‍वरको उपस्थितिमा पुग्नसक्छौँ। यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेका कष्‍टहरूका कारण निरुत्साहित नहोओ, यी त तिमीहरूका गौरव हुन्। यसैकारण म पिताको सामु घुँडा टेक्दछु, जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाम राखिएको छ। म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्; ताकि ख्रीष्‍ट तिमीहरूका हृदयमा विश्‍वासद्वारा बास गरिरहून्। अनि म यो पनि प्रार्थना गर्छु, तिमीहरू प्रेममा जरा गाडेका र स्थापित हुँदै प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्‍टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्ति पाउन सक; अनि सबै समझभन्दा बाहिरको ख्रीष्‍टको प्रेम जान्‍न सक, ताकि परमेश्‍वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक। अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ; उहाँलाई नै मण्डली र ख्रीष्‍ट येशूमा पुस्ता-पुस्तासम्म सदासर्वदा महिमा भइहोस्! आमेन।

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्

एफिसी 3:8-21 पवित्र बाइबल (NERV)

परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनरूपी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्रचार गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिनसक्नुको छ। अनि परमेश्वरले मलाई उहाँको गुप्त सत्यताको योजना बारे सबै मानिसलाई भनि दिने काम दिनुभयो, त्यो सत्यता आदि कालदेखि नै उहाँमा लुकेको थियो। उहाँनै परमेश्वर हुनुहुन्छ जसले सब कुरा सृष्टि गर्नु भयो। उहाँको उदेश्य थियो कि स्वर्गीय ठाँउका जम्मै शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानुन्। युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो। ख्रीष्टमा हामीहरू परमेश्वरको अघि निर्भय भई विश्वाससित उभिन सक्छौं। ख्रीष्टमा विश्वासद्वारा हामी यो गर्न सक्छौं। यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ। यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु। स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाटनै यसको नाम लिंदछन्। म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरूलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनु हुन्छ। तिमाहरूको विश्वासको कारणले ख्रीष्ट तिमीहरूको हृदयमा बसुन् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पउन्। अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रर्थना गर्दछु कि उहाँको प्रेमको चौंडाई, लम्मबाई, उँचाई र गहिराई तिमाहरूले बुझ्न सक। ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ। परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ। मण्डलीमा अनि ख्रीष्ट येशूमा सदा सर्वदा र युग-युगसम्म उहाँको महिमा भइरहोस्। आमिन।

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्

एफिसी 3:8-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ख्रीष्‍टका पवित्र जनहरूमध्‍ये म सबभन्दा तुच्‍छ भए पनि ख्रीष्‍टको असीम सम्‍पत्ति सुसमाचार अरू जातिका मानिसलाई सुनाउने वरदान परमेश्‍वरले मलाई नै दिनुभयो। परमेश्‍वरको रहस्‍यमय योजनाले कसरी काम गर्छ, त्‍यो सबै मानिसलाई बताउने काम मैले पाएको छु। सबै थोक रचना गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले आफ्‍ना गुप्‍त कुराहरू बितेका सारा युगहरूमा लुकाइराख्‍नुभयो। वर्तमान कालमा मण्‍डलीद्वारा आकाशका देवी-देवताहरू र शासकहरूले परमेश्‍वरका बहुमुखी ज्ञान थाहा पाऊन् भन्‍ने उद्देश्‍यले ती रहस्‍य प्रकट गरिएका थिएनन्। परमेश्‍वरले यी सबै आफ्‍नो अनन्‍त योजनामा गर्नुभएको हो अनि यो हाम्रा प्रभु ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभयो। ख्रीष्‍टमा रहेर अनि उहाँमा विश्‍वास राखेर नै हामीले परमेश्‍वरकहाँ आउन साहस र भरोसा पाएका छौं। यसैकारण मेरो बिन्‍ती छ, तिमीहरूका लागि मैले भोगेको कष्‍ट देखेर हरेस नखाओ। यो त तिमीहरूकै निम्‍ति लाभदायक कुरो हो। त्‍यसैकारण म परमेश्‍वर पिताका पाउमा परेर प्रार्थना चढाउँछु। स्‍वर्ग र पृथ्‍वीका सबै परिवार पिताकै नाउँमा रहेका छन्। उहाँको महान् सम्‍पत्ति र उहाँकै आत्‍माबाट तिमीहरूलाई शक्ति मिलोस् र त्‍यो शक्तिले तिमीहरूलाई भित्री जीवनमा बलियो बनाओस् भनी परमेश्‍वरलाई म प्रार्थना गर्दछु। तिमीहरूले विश्‍वास गर अनि ख्रीष्‍टले तिमीहरूको हृदयमा बास गरिरहून् भनी म प्रार्थना गर्छु। तिमीहरूले हाल्‍ने जरा र तिमीहरूको जग प्रेम नै होस् भन्‍ने म प्रार्थना गर्दछु। त्‍यसो हुँदा तिमीहरू पनि ख्रीष्‍टका पवित्र जनहरूसँगै ख्रीष्‍टको प्रेमको लम्‍बाइ, चौडाइ, उचाइ र गहिराइ कति छ, पूरासँग बुझ्‍न सक्‍नेछौ। सबै ज्ञानबुद्धिले खोज्न नसक्‍ने उहाँको प्रेमलाई तिमीहरूले बुझ अनि परमेश्‍वरको भरिपूर्णता तिमीहरूमा भरिओस्। हामीभित्र काम गर्ने शक्तिद्वारा हामीले मागेको र सोचेको भन्दा प्रशस्त मात्रामा दिन सक्‍नुहुने उनै परमेश्‍वरलाई मण्‍डली र येशू ख्रीष्‍टमा सबै युग सबै समय र सधैँभरि प्रशंसा होस्। आमेन।

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्