YouVersion लोगो
खोज आइकन

एफिसी 2

2
ख्रीष्‍टमा जीवित पारिएका
1तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ, 2जसमा तिमीहरू जिउने गर्दथ्यौ, जब तिमीहरू यस संसारको मार्गअनुसार र आकाशको राज्यको शासकअनुसार पछ्याउँथ्यौ, अहिले त्यो आत्माले अनाज्ञाकारीहरूका जीवनमा काम गरिरहेको छ। 3हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै र यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौं; र बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौं। 4तर कृपाका धनी परमेश्‍वरले उहाँको हामीप्रतिको महान् प्रेमका कारण 5हामीहरू अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो—परमेश्‍वरको अनुग्रहबाट नै तिमीहरूले मुक्‍ति पाएका छौ। 6अनि परमेश्‍वरले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो र ख्रीष्‍ट येशूसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो, 7ताकि आउँदा युगहरूमा उहाँको अनुग्रहको अतुलनीय सम्पत्ति ख्रीष्‍ट येशूमा हामीलाई गर्नुभएको दयामा देखाउन सक्नुभएको होस्। 8किनकि तिमीहरूले अनुग्रहबाट मुक्‍ति पाएका छौ; र यो विश्‍वासद्वारा हो। यो मुक्‍ति तिमीहरू आफैबाट आएको होइन, तर यो त परमेश्‍वरको वरदान हो। 9यो असल कर्महरूद्वारा होइन कि, कसैले घमण्ड गरोस्। 10किनकि हामी परमेश्‍वरद्वारा अघिबाटै असल काम गर्नका लागि ख्रीष्‍ट येशूमा सृजना गरिएका हौं, जुन परमेश्‍वरले अघिबाटै हामीद्वारा गर्नका लागि तयार गर्नुभएको थियो।
ख्रीष्‍टमा एकता
11यसकारण याद राख, अघिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भन्छन् 12याद राख, त्यस बेला तिमीहरू ख्रीष्‍टदेखि अलग, इस्राएलको नागरिक हकबाट वञ्चित थियौ, र प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्‍वरविनाका थियौ। 13तर तिमीहरू, जो ख्रीष्‍ट येशूमा अघि एक समय टाढा थियौ, अहिले ख्रीष्‍टको रगतद्वारा#2:13 ख्रीष्‍टको रगत ले उहाँको क्रूसमा भएको मृत्यु लाई जनाउँदछ। नजिक ल्याइएका छौ।
14किनकि उहाँ स्वयम् नै हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ, र दुवैलाई एउटै बनाउनुभएको छ। 15उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञाहरू र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्‍टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो। 16अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्‍वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो। 17उहाँ आउनुभयो, र तिमी टाढा भएकाहरू र नजिक भएकाहरू दुवैलाई शान्तिको सन्देश प्रचार गर्नुभयो। 18किनकि ख्रीष्‍टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौं।
19फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्‍वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ; 20जुन घराना प्रेरितहरू र अगमवक्‍ताहरूका जगमाथि बसालिएको छ, र जसको मुख्य ढुङ्गो ख्रीष्‍ट येशू आफै हुनुहुन्छ। 21उहाँमा नै पूरै भवन एकसाथ जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर हुनालाई बढ्दै जान्छ। 22अनि उहाँमा तिमीहरू पनि वासस्थान हुनालाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्‍वर आफ्नो आत्माद्वारा वास गर्नुहुन्छ।

अहिले सेलेक्ट गरिएको:

एफिसी 2: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्