एफिसी 1
1
1परमेश्वरको इच्छाअनुसार ख्रीष्ट येशूको प्रेरित पावलबाट,
एफिससमा भएका ख्रीष्ट येशूमा विश्वासयोग्य पवित्र जनहरूलाई:
2हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
ख्रीष्टमा आत्मिक आशिषहरू
3हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्टमा हरेक आत्मिक आशिषले स्वर्गीय स्थानहरूमा आशिष दिनुभएको छ। 4किनकि उहाँको दृष्टिमा हामी पवित्र र निष्खोट हुन सकौं भनेर उहाँले प्रेममा हामीलाई संसारको सृष्टिपूर्व नै ख्रीष्टमा चुन्नुभयो। 5उहाँले हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार येशू ख्रीष्टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो, 6ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैंमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्। 7परमेश्वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौं। 8परमेश्वरले आफ्ना सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो। 9उहाँले आफ्नो इच्छाको रहस्य, जुन ख्रीष्टमा राख्नुभएको थियो, आफ्नो असल खुशीअनुसार, हामीलाई प्रकट गर्नुभएको छ, 10ताकि जब समयहरूको पूर्णता हुन्छ, स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनताको एकतामा ल्याइनेछन्।
11उहाँकै योजनाअनुसार पूर्वनिर्धारण गरेर हामीलाई पनि उहाँमा नै चुन्नुभएको छ, जसले आफ्नो इच्छाअनुसारको उद्देश्य पूरा गर्न सबै काम गर्नुहुन्छ 12कि, हामी जसले ख्रीष्टमा पहिल्यै आशा राखेका हौं, उहाँको महिमाको प्रशंसाको कारण बन्नसकौं। 13जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्टमा समावेश भयौ। जब तिमीहरूले विश्वास गर्यौ, तब प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा उहाँमा नै तिमीहरूलाई छाप लगाइएको थियो। 14परमेश्वरको महिमाको प्रशंसाको निम्ति तिनीहरू, जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूका उद्धारको उत्तराधिकारको पहिलो किस्ता हुनुहुन्छ।
धन्यवाद र प्रार्थना
15त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनें, 16म तिमीहरूलाई प्रार्थनामा सम्झिदै तिमीहरूको निम्ति धन्यवाद दिन थामिएको छैनँ। 17मैले यही विन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा दिनुभएको होस्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्न सक। 18म यो प्रार्थना गर्दछु, कि तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्न सक। 19म यो पनि प्रार्थना गर्दछु, परमेश्वरको शक्तिको अतुलनीय महान्ता, जो उहाँमा विश्वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो त्यही शक्ति महान् सामर्थ्य हो 20जसलाई प्रयोग गरेर उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो। 21अनि सबै प्रधानता र अधिकार, शक्ति र राज्य र यस युगमा मात्र होइन, तर आउँदो युगमा पनि सबै नाउँभन्दा माथि उहाँलाई राख्नुभयो। 22यसर्थ परमेश्वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुरामाथि शिर तुल्याइदिनुभयो, 23जुन मण्डली उहाँको शरीर हो, उहाँको पूर्णता हो, जसलाई उहाँले नै सबै कुराले सबै तरिकाले भरिपूर्ण पारिदिनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
एफिसी 1: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.