YouVersion लोगो
खोज आइकन

व्यवस्था 28:23-47

व्यवस्था 28:23-47 NCV

तिमीहरूका टाउको माथिको आकाश काँसो र तिमीहरूमुनि भएको जमिन फलाम हुनेछन्। याहवेहले तिमीहरूको देशको झरीलाई धुलो र बालुवामा परिणत गरिदिनुहुनेछ। ती तिमीहरू नष्‍ट नभएसम्म आकाशबाट झर्नेछन्। याहवेहले तिमीहरूलाई आफ्ना शत्रुहरूका सामु हार्न दिनुहुनेछ। तिमीहरू तिनीहरूमाथि एक बाटोबाट आउनेछौ र सात बाटो भएर भाग्नेछौ। अनि तिमीहरूको अवस्था देखेर पृथ्वीका समस्त जातिहरू डराउनेछन्। तिमीहरूका मृत शरीरहरू आकाशका सबै चराहरू र पृथ्वीका जङ्गली जनावरहरूका निम्ति भोजन हुनेछन्; र तिनीहरूलाई धपाउने कोही पनि हुनेछैन। याहवेहले तिमीहरूलाई इजिप्टको पिलो, घाउखटिरा, दाद र लूतोले सताउनुहुनेछ, जसबाट तिमीहरू निको हुन सक्नेछैनौ। याहवेहले तिमीहरूलाई पागलपन, अन्धोपन र हृदयमा बेचैन पारिदिनुहुनेछ। तिमीहरू अन्धा मानिसले जस्तै मध्यदिनमै अँध्यारोमा जस्तै छामछाम-छुमछुम गर्नेछौ। तिमीहरू आफूले गरेका हरेक कुरामा असफल हुनेछौ। तिमीहरू प्रत्येक दिन सताइनेछौ, लुटिनेछौ र तिमीहरूलाई उद्धार गर्ने कोही हुनेछैन। जुन केटीसँग तिमीहरूको मगनी हुन्छ, त्यसलाई अर्को मानिसले लगेर बलात्कार गर्नेछ। तिमीहरूले घर बनाउनेछौ, तर त्यसमा बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल चाख्न पनि पाउनेछैनौ। तिमीहरूका गोरु तिमीहरूका आँखाकै अगि मारिनेछ; तर तिमीहरूले त्यसको मासु खान पाउनेछैनौ। तिमीहरूका गधा तिमीहरूबाट जबरजस्ती खोसेर लगिनेछ र त्यो फर्काइनेछैन। तिमीहरूका भेडाहरू तिमीहरूका शत्रुहरूलाई दिइनेछ, र ती भेडाहरूलाई छुटाउने कोही हुनेछैन। तिमीहरूका छोराछोरीहरू अर्कै जातिलाई दिइनेछन्; अनि दिनदिनै तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिमीहरू निरीह भएको कारण केही गर्न सक्नेछैनौ। तिमीहरूले नचिनेको जातिले तिमीहरूका जमिन र परिश्रमले उब्जाएका अन्‍नबाली खानेछन्। तर तिमीहरूसँग चाहिँ सधैँ कठोर थिचोमिचोमा पर्नबाहेक केही पनि हुनेछैन। तिमीहरूले देखेका ती डरलाग्दा दृष्यहरूले तिमीहरूलाई बौलाहा बनाइदिनेछन्। याहवेहले तिमीहरूका घुँडा र खुट्टाहरूमा पीडादायक निको नहुने पिलोले प्रहार गर्नुहुनेछ। ती तिमीहरूका पैतालादेखि शिरको टुप्पोसम्म फैलिएर जानेछन्। याहवेहले तिमीहरूले नियुक्त गरेका राजालाई तिमीहरूले र आफ्ना पितापुर्खाहरूले नचिनेको जातिकहाँ धपाउनुहुनेछ। त्यहाँ तिमीहरूले अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवताहरूलाई पूजा गर्नेछौ। तिमीहरू याहवेहले धपाउनुभएका सबै जातिको बीचमा त्रास, उखान र हाँसोका पात्रहरू बन्‍नेछौ। तिमीहरूले जमिनमा धेरै बिउ छर्नेछौ, तर कटनीचाहिँ थोरै गर्नेछौ; किनकि ती सलहहरूले खानेछन्। तिमीहरूले दाखबारी लगाएर त्यसको खेती गर्नेछौ, तर त्यसको रस पिउनेछैनौ वा अङ्‌गुर बटुल्नेछैनौ; किनकि किराहरूले ती खानेछन्। तिमीहरूका देशभरि जैतुनका रूखहरू त हुनेछन्, तर तिमीहरूले जैतुनको तेल प्रयोग गर्न पाउनेछैनौ; किनकि जैतुनहरू झरेर जानेछन्। तिमीहरूले छोराछोरीहरू त जन्माउनेछौ, तर ती तिमीहरूसँग रहनेछैनन्; किनकि तिनीहरूलाई कैदमा लगिनेछ। तिमीहरूका जमिनका रूखहरू र अन्‍नबालीहरूलाई सलहका हुलले नाश पार्नेछन्। तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरू तिमीहरूभन्दा उच्‍च-उच्‍च स्थानमा पुग्नेछन्। तर तिमीहरूचाहिँ तल-तल झर्नेछौ। तिनीहरूले तिमीहरूलाई ऋण दिनेछन्, तर तिमीहरूले तिनीहरूलाई ऋण दिनेछैनौ। तिनीहरू शिर हुनेछन्, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ। तिमीहरूमाथि यी सबै श्रापहरू आउनेछन्। याहवेह तिमीहरूका परमेश्‍वरमा तिमीहरू आज्ञाकारी नभएका अनि उहाँले तिमीहरूलाई दिनुभएका आज्ञा र उर्दीहरू तिमीहरूले पालन नगरेको हुनाले, तिमीहरू नष्‍ट नभएसम्म यी श्रापले तिमीहरूलाई लखेट्नेछन् र हराउनेछन्। तिमीहरू र तिमीहरूका सन्तानमाथि तिनीहरू सधैँको निम्ति चिन्ह र चमत्कार हुनेछन्। किनभने तिमीहरूले आफ्नो प्रशस्तताको समयमा याहवेह आफ्ना परमेश्‍वरको सेवा खुशी र आनन्दसाथ गरेनौ।

व्यवस्था 28 पढ्नुहोस्