अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्तै हुनेछन्। परमप्रभुले तिमीहरूको देशको वृष्टि धूलोपीठोमा बदल्नुहुनेछ। तिमीहरू नष्ट नभएसम्म आकाशबाट त्यो तिमीहरूमाथि आउनेछ। परमप्रभुले तिमीहरूलाई आफ्ना शत्रुहरूका अगि पराजित तुल्याउनुहुनेछ। उनीहरूसित लड्न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्नेछौ। पृथ्वीका सबै राज्यमा तिमीहरू तिरस्कृत हुनेछौ। तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन। निको हुन नसक्ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्यथाले प्रहार गर्नुहुनेछ। परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ। अन्धाले अन्धकारमा छामछुम गरेझैँ मध्यदिनमा तिमीहरू हिँड्नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्तर शोषणमा परी लुटिनेछौ। तिमीहरूसँग मगनी भएकी केटीलाई अन्य मानिसले लानेछ र भ्रष्ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल अलिकति पनि आफै चाख्न पाउनेछैनौ। तिमीहरूका आँखाअगि ढालेको आफ्नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन। तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिनीहरूको प्रवास रोक्ने तिमीहरूसँग शक्ति हुनेछैन। तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ। तिमीहरूका आँखाले देख्नुपरेको दृश्य हेर्दा तिमीहरू बौलाहा हुनेछौ। परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्पादेखि पैतालासम्म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्याउनुहुनेछ। तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ। परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्कार, हेला र गिल्लाका पात्र बन्नेछौ। तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्नेछौ, किनकि सलहहरूले त्यो स्वाहा पार्नेछन्। तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्। तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्। तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्। तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्वाहा पार्नेछन्। तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि चढ्नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ। त्यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्यसलाई ऋण दिनेछैनौ। त्योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ। परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्ट नभएसम्म यी सराप तिमीहरूमाथि आइपर्नेछन्। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्नेछन्। तिमीहरू र तिमीहरूका सन्तानमाथि सधैँको निम्ति ती चिन्ह र उदेकका कुरा हुनेछन्। तिमीहरूसँग सबै चीज प्रशस्त हुँदा खुशीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौ।
व्यवस्था 28 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 28:23-47
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू