YouVersion लोगो
खोज आइकन

व्यवस्थाको पुस्तक 28:23-47

व्यवस्थाको पुस्तक 28:23-47 NERV

आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ। परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिन्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ। “तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन् त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्। तिमीहरूका मृत शरीरहरू जंगली पंक्षी र जनावरहरूको आहार बनिनेछ, तिनीहरूलाई तिमीहरूको मृत शरीरबाट धपाउने कोही हुनेछैन। “परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई खटिराहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई बहुलाहा, अन्धा र हृदयमा बेचैनी पारिदिनुहुनेछ। तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन। “स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ। मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेंडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन। “तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउन्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन। “तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्। तिमीहरूले देखेको चीजहरूले तिमीहरूलाई बौलाहा बनाउँछ। परमप्रभुले कहिले जाति नहुने पिलोद्वारा तिमीहरूलाई दण्ड दिनु हुनेछ। घुँडा र खुट्टाहरूमा यी पिलोहरू हुनेछ। यी घाउहरू शरीरमा पैतालादेखि टाउकाको तालुसम्म प्रत्येक अङ्गमा हुनेछ। “तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ। देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्। “तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किनकि अन्न सलहले खाइदिनेछ। तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ। तिमीहरूको भूमिमा जताततै भद्राक्षको रूखहरू भएर पनि त्यसको तेल चलाउन पाउने छैनौ कारण फलहरू सबै भूईंमा झरेर सड्नेछन्। तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्नु पाउने छैनौ किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्। तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ। तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्। विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्। “जबसम्म तिमीहरू ध्वंश हुदैनौ तिमीहरूमाथि आई लाग्ने सरापले खेद्दै पक्रँदै गरिरहनेछ कारण तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले बताउनु भएको कुराहरू मानेनौ। उहाँले दिनु भएको आज्ञा तथा विधिहरू तिमीहरूले पालन गरेनौ। अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्। “कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ।