YouVersion लोगो
खोज आइकन

दानिएल 6:5-12

दानिएल 6:5-12 NCV

आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्‍वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।” यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्! राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्‍लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्। अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।” यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले। अनि जब त्यो उर्दी प्रकाशित भएको कुरा दानिएलले थाहा पाए, तब तिनी आफ्ना घरभित्र गए; अनि माथिल्‍लो कोठामा पसे, जहाँ यरूशलेमतिर फर्किएका झ्यालहरू थिए। तिनले सधैँ गरेझैँ दिनमा तीन पल्ट घुँडा टेकी परमेश्‍वरलाई धन्यवाद दिँदै प्रार्थना गरे। तब ती मानिसहरू समूह बाँधेर गए, र दानिएललाई प्रार्थना गरिरहेका र परमेश्‍वरसित सहायता मागिरहेका भेट्टाए। यसकारण तिनीहरू राजाकहाँ गए, र तिनीसित तिनको राजकीय उर्दीको बारेमा कुरा गरे: “हे महाराजा, के तपाईंले आउँदा तीस दिनहरूमा तपाईंबाहेक अरू कुनै देवता, अथवा मानिसलाई प्रार्थना गर्ने जोसुकै पनि सिंहको खोरमा फ्याँकिनेछ भनेर एउटा उर्दी निकाल्नुभएको होइन र?” राजाले जवाफ दिए, “मादीहरू र परसीयनहरूको विधि-विधानअनुसार त्यो उर्दी पक्‍का छ—जुन कहिल्यै रद्द हुन सक्दैन।”

दानिएल 6 पढ्नुहोस्