पत्रुस विभिन्न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्ने पवित्र जनहरूलाई भेट्न गए। तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे। पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको तुल्याउनुहुन्छ। उठ र आफ्नो ओछ्यान मिलाऊ।” तब एनियास तुरुन्तै उठ्यो। त्यसपछि लिड्डा र शारोनमा बस्ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के। योप्पा सहरमा तबीता (ग्रीक भाषामा उनलाई डोरकास भनिन्थ्यो) नामकी एक जना बहिनी थिइन्। तिनी सदा असल कार्य गरिरहन्थिन् र गरिबहरूलाई सहायता पनि गर्ने गर्थिन्। त्यही समयमा तिनी बिरामी भइन्, र मरिन्। तिनलाई नुहाइदिएर माथिल्लो तलाको कोठामा राखियो। लिड्डाचाहिँ योप्पाको नजिकै थियो। त्यसैले चेलाहरूले पत्रुस लिड्डामा भएको सुनेर तिनीहरूले दुई जनालाई तिनीकहाँ पठाएर अनुरोध गरे, “कृपया तुरुन्तै आउनुहोस्।” तब पत्रुस तिनीहरूसँग गए, र जब तिनी त्यहाँ पुगे, उनलाई माथि कोठामा लगियो। सबै विधवाहरू उनको चारैतिर उभिएर रुँदै तिनीहरूसँग भएको बेला डोरकासले बनाएका पोशाक र अरू लुगाहरू तिनीहरूले देखाए। त्यस कोठाभित्र भएका सबैलाई पत्रुसले बाहिर पठाए। त्यसपछि उनले घुँडा टेकेर प्रार्थना गरे। मरेकी स्त्रीतिर फर्केर उनले भने, “तबीता, उठ!” अनि तिनले आफ्ना आँखाहरू खोलिन्, र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन्। पत्रुसले हातले समातेर तिनलाई आफ्नै खुट्टामा उभिन मदत गरे। त्यसपछि तिनले विधवा तथा पवित्र जनहरूलाई कोठाभित्र बोलाए। अनि जीवित तबीतालाई तिनीहरूकहाँ सुम्पिदिए। यो घटना सम्पूर्ण योप्पा सहरबासीले थाहा पाए। अनि धेरै जनाले प्रभुमा विश्वास गरे। त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे।
प्रेरित 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 9:32-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू