YouVersion लोगो
खोज आइकन

प्रेरित 9:32-43

प्रेरित 9:32-43 NNRV

पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्‍तहरूकहाँ पनि आइपुगे। तिनले त्‍यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो। पत्रुसले त्‍यसलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्‍छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्‍यो तुरुन्‍तै उठिहाल्‍यो। लुड्डा र शारोनमा बस्‍ने जति सबै जनाले त्‍यसलाई देखेर प्रभुतिर फर्के। योप्‍पा नगरमा तबीता, अर्थात्‌ डोरकास (हरिणी) भन्‍ने एउटी शिष्‍य थिइन्‌। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्‍थिन्‌। ती दिनमा तिनी बिरामी भइन्‌ र तिनको मृत्‍यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्‍लो तलाको एउटा कोठामा राखे। लुड्डा योप्‍पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्‍यहाँ छन्‌ भन्‍ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्‍तो बिन्‍ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्‌।” तब पत्रुस उठेर तिनीहरूसँग गए। त्‍यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्‍लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्‍त्रहरू देखाए। तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्‍यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्‌। उनले तिनलाई आफ्‍ना हातले समाती जुरुक्‍कै उठाए, अनि सन्‍तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्‍तुत गरे। अब यो कुरा सारा योप्‍पाभरि जाहेर भयो, र धेरैले प्रभुमा विश्‍वास गरे। अनि तिनी निकै दिनसम्‍म एक जना सिमोन भन्‍ने चर्मकारसँग योप्‍पामा बसे।

Video for प्रेरित 9:32-43