प्रेरितहरूलाई त्यहाँ ल्याइएपछि प्रधान पुजारीद्वारा प्रश्न गरिनका निम्ति तिनीहरूलाई महासभासामु उभ्याइयो। प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।” पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञाको पालन गर्नैपर्छ! हाम्रा पुर्खाहरूका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो। इस्राएलले पश्चात्ताप गरोस् र पापको क्षमादान उहाँबाट होस् भनेर परमेश्वरले आफ्नो दाहिने हातपट्टि उच्च स्थानमा उहाँलाई राजकुमार र उद्धारकर्ताको रूपमा राख्नुभयो। हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।” यो कुरा सुनेपछि, तिनीहरू अत्यन्त क्रोधित भए, र तिनीहरूलाई मार्न खोजे। तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए। त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ, त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्। किनकि केही समयअगि थूदास भन्ने एक जना मानिस देखा पर्यो, जसले आफू कोही हुँ भन्ने दाबी गर्यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र सबै त्यसै बिलाएर गए। त्यस मानिसपछि जनगणनाका दिनहरूमा गालीलको यहूदा देखा पर्यो। उसले पनि केही मानिसहरूलाई जम्मा गरेर विद्रोहमा खडा भयो। ऊ पनि मारियो; र उसका सबै चेलाहरू छरपस्ट भए। त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्। किनकि यदि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने ती असफल हुनेछन्। तर यदि यो परमेश्वरबाट भएको हो भने तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सक्नु हुनेछैन। त्यस बेलामा तपाईंहरू आफैँलाई नै परमेश्वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।” तिनीहरूलाई उनले भनेका वचनले चित्त बुझ्यो। अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्रा लगाए। त्यसपछि येशूको नाममा प्रचार नगर्नू भन्ने आदेश दिए, र तिनीहरूले प्रेरितहरूलाई छोडिदिए। येशूको नाममा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए। येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्।
प्रेरित 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 5:27-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू