तिनीहरूले प्रेरितहरूलाई महासभाको सामने उभ्याए। प्रधान पूजाहारीले तिनीहरूलाई सोधे, “हामीले तिमीहरूलाई येशूको नाउँमा फेरि कसैलाई केही नभन्नू भन्ने आज्ञा दिएका थियौं, हो कि होइन? ल हेर, तिमीहरूले त आफ्नो शिक्षा यरूशलेमभरि फिँजाएछौ। अझ तिमीहरूले त्यस येशूलाई मारेको दोष हामीलाई पो लगाउने निधो गर्दै रहेछौ!” पत्रुस र अरू प्रेरितहरूले जवाफ दिए, “मानिसले भनेको होइन, तर परमेश्वरले भन्नुभएको हामीले मान्नुपर्छ। तपाईंहरूले क्रूसमा किला ठोकी मार्नुभएको येशूलाई हाम्रा पिता-पुर्खाका परमेश्वरले फेरि बिउँताउनुभएको छ। इस्राएलीहरूले पश्चात्ताप गरी पापबाट क्षमा पाऊन् भनेर परमेश्वरले येशूलाई मुक्ति दिनुहुने राजा तुल्याएर आफ्नो दाहिनेपट्टिको आदरको ठाउँसम्म बसाउनुभयो। हामी यसको साक्षी छौं र परमेश्वरले आफ्ना आज्ञापालन गर्नेहरूलाई दिनुभएको पवित्र आत्माले पनि साक्षी दिँदै हुनुहुन्छ।” यो कुरा सुनेर भेला भएका अगुवाहरू रिसले चुर भए अनि प्रेरितहरूलाई मार्ने निधो गरे। त्यतिखेर गमलिएल नाउँ गरेका फरिसी सभाको सामु खडा भए। उनी तिनीहरू सबैले मानेका धर्म-गुरु थिए। उनले प्रेरितहरूलाई एक छिनको लागि सभाबाहिर जाने आज्ञा दिए। त्यसपछि उनले सभालाई भने, “ए इस्राएली हो, तपाईंहरूले यी मानिसहरूलाई के गर्न लाग्नुभएको हो? होश राख्नुहोस्! केही समयअघि थुदास भन्ने एक जना मानिस आफैंलाई ठूलो मान्छे हुँ भनेर खडा भए। तर तिनी मारिए र तिनलाई पछ्याउनेहरू चार सय जति सबै छरिए अनि तिनको नाउँ निशानै हरायो। त्यसपछि जनगणनाको समयमा गालीलको यहूदा भन्ने मानिस देखा पर्यो। धेरै मानिसहरू तिनको पछि लागे, तर तिनी पनि मारिए र तिनलाई पछ्याउनेहरू छरिए। त्यसैकारण अब यस मामिलामा म तपाईंहरूलाई भन्छु, ती मानिसहरूको विरोधमा केही नगर्नुहोस्, बरु तिनीहरूलाई छोडिदिनुहोस् किनकि तिनीहरूको यो विचार र काम मानिस आफैंले बनाएको हो भने त्यो आफैं हराएर जानेछ। तर यदि यो परमेश्वरबाट भएको हो भने तपाईंहरूले यी मानिसहरूलाई रोक्न सक्नुहुन्न। नत्र त तपाईंहरू परमेश्वरको विरोधमा लड्ने ठहरिनुहोला।” सभाका मानिसहरूले गमलिएलको सल्लाह माने। तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र पिट्न लगाए अनि ‘येशूको नाउँमा फेरि कहिल्यै पनि प्रचार नगर्नू’ भन्ने कडा आज्ञा दिएर छोडिदिए। प्रेरितहरू सभादेखि बाहिर आए अनि ‘परमेश्वरले हामीहरूलाई येशूको नाउँमा दु:ख र अपमान सहन योग्य ठहराउनुभयो’ भनेर तिनीहरू आनन्दले भरपूर भए। त्यसपछि तिनीहरूले दिनदिनै मन्दिरमा र मानिसको घरहरूमा गएर येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्छ भन्ने सुसमाचार प्रचार गर्न छोडेनन्।
प्रेरित 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 5:27-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू