सिपाहीहरूले प्रेरितहरूलाई यहूदी सभामा ल्याए अनि यहूदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे। उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।” पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ। तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो। येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्। हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।” यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे। फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने। त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्। याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो। त्यसपछि गालीलवासी यहूदा नाउँ भएको एकजना मानिस आए। यो जनगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए। यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ। तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाईं भएर समाप्त होला।” गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए। तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए। प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए। तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि “येशू” नै “ख्रीष्ट” हुनुहुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे।
प्रेरितहरूका काम 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरितहरूका काम 5:27-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू