YouVersion लोगो
खोज आइकन

प्रेरित 4:13-31

प्रेरित 4:13-31 NCV

जब तिनीहरूले पत्रुस र यूहन्‍नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्‍चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए। तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्‍न सकेनन्। त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्‍लाह गर्न थाले। “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गरौँ?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अलौकिक चिन्हहरूको बारेमा यरूशलेममा बस्‍ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि यो कुरा इन्कार गर्न सक्दैनौँ। तर यो कुरा अरू बढी मानिसहरूमा प्रचार हुनबाट रोक्नका निम्ति येशूको नाममा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।” त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए। तर पत्रुस र यूहन्‍नाले जवाफ दिए, “परमेश्‍वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरका दृष्‍टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्! किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्‍न पटक्‍कै सक्दैनौँ।” यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए। किनकि आश्‍चर्य प्रकारले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी थियो। उनीहरू छोडिएपछि पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए। तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्‍च सोरमा परमेश्‍वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्‍टि गर्नुभयो। तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन्, र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्? प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्; र शासकहरू एकजुट भएर भेला भएका छन्।’ तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्‍चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए। तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्। तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्‌भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।” तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्‍लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्‍वरको वचन साहससाथ बोल्न थाले।

प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:13-31 को लागि भिडियो