YouVersion लोगो
खोज आइकन

प्रेरित 4:13-31

प्रेरित 4:13-31 सरल नेपाली

पत्रुस र यूहन्‍ना धेरै नपढेका साधारण मानिस थिए। तैपनि उनीहरूले ठूलो साहससँग बोले। यो देखेर सभाका मानिसहरू सबै छक्‍क परे। पत्रुस र यूहन्‍ना पनि येशूसँगै रहन्‍थे भन्‍ने कुरा तिनीहरूले थाहा पाए। तर त्‍यो निको भएको लङ्गडोलाई पत्रुस र यूहन्‍नासँगै उभिरहेको देखेर तिनीहरूले उनीहरूलाई केही भन्‍न सकेनन्। त्‍यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई सभाबाट बाहिर जाने आज्ञा गरे अनि तिनीहरूले चाहिँ मिलेर यसरी छलफल गर्न लागे, “अब यी मानिसहरूलाई हामीहरू के गरौं? यरूशलेमका सबै मानिसले तिनीहरूले गरेको यो अचम्‍मको काम थाहा पाएका छन्। अब यस कुरालाई हामीले होइन भन्‍न सक्‍दैनौं। तैपनि यो कुरा अरू मानिसहरूको बीचमा फैलिन दिनुहुँदैन। त्‍यसकारण उनीहरूलाई ‘येशूको बारेमा अबदेखि कुनै कुरा पनि कसैसँग नगर्नू’ भनेर कडा आज्ञा दिऔं।” त्‍यसपछि तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाएर ‘अबदेखि येशूको बारेमा कसैसँग कहिल्‍यै पनि कुरा नगर्नू अनि नसिकाउनू’ भनेर कडा आज्ञा दिए। तर पत्रुस र यूहन्‍नाले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूले भनेको कुरा मान्‍नु कि परमेश्‍वरले नै भन्‍नुभएको कुरा मान्‍नु, परमेश्‍वरको अघि कुनचाहिँ ठीक छ? तपाईंहरू आफैं विचार गर्नुहोस्। हामी त आफैंले सुनेका र देखेका कुरा नभनी चुप लागेर बस्‍न सक्‍दैनौं।” यो सुनेर सभाका मानिसहरूले उनीहरूलाई फेरि धम्‍की दिएर छोडिदिए। तिनीहरूले पत्रुस र यूहन्‍नालाई सजाय दिने उपाय पाएनन् किनभने उनीहरूले गरेका अचम्‍मको काम देखेका हुनाले सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्दै थिए। यसरी अचम्‍म प्रकारले निको भएको मानिसचाहिँ चालीस वर्षभन्दा पनि बढी उमेरको थियो। त्‍यहाँबाट छुट्‍नासाथ पत्रुस र यूहन्‍ना आफ्‍ना साथीहरूकहाँ फर्के। उनीहरूले मुख्‍य पूजाहारी र अरू अगुवाहरूले भनेका कुरा आफ्‍ना साथीहरूलाई सुनाए। यस्‍तो कुरा सुनेपछि तिनीहरू सबै मिलेर परमेश्‍वरसँग यसरी प्रार्थना गर्न लागे, “हे सर्वशक्तिमान् प्रभु परमेश्‍वर, आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो। तपाईंको पवित्र आत्‍माद्वारा तपाईंले हाम्रा पुर्खा दाऊदको मुखबाट यसरी बोल्‍नुभयो– अरू जातिहरू किन रिसाउँछन्? मानिसहरू व्‍यर्थैमा किन जाल रच्‍तछन्? परमेश्‍वर र उहाँले खटाउनुभएको मुक्ति दिनुहुने ख्रीष्‍टको विरोधमा पृथ्‍वीका राजा र शासकहरूसमेत भेला भएका छन्। यस्‍तै कुरा हिजो-आज भइरहेछन्। तपाईंको पवित्र सेवक येशूलाई खटाएर तपाईंले मुक्तिदाता बनाउनुभयो। उहाँको विरोधमा जाल रच्‍ने हेरोद र पन्‍तियस पिलातस अनि इस्राएलका र अरू जातिका मानिसहरूसमेत यही सहरमा भेला भएका थिए। तर तिनीहरूले तपाईंको शक्ति र इच्‍छाद्वारा तपाईंले अघिबाटै विचार गर्नुभएअनुसार मात्रै काम गरे। अब हे प्रभु, तिनीहरूले दिएको धम्‍कीतिर ध्‍यान दिनुहोस्। तपाईंको सन्‍देश साहससँग प्रचार गर्न आफ्‍ना सेवकहरूलाई शक्ति दिनुहोस्। आफ्‍ना सेवकहरूलाई तपाईंको पवित्र सेवक येशूको नाउँमा बिरामीहरू निको पार्ने अनि अचम्‍मका कामहरू गर्दै चिन्‍हहरू देखाउने शक्ति दिनुहोस्।” यसरी प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँ हल्‍लियो। तिनीहरू सबै पवित्र आत्‍माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन नडराइ सुनाउन थाले।

प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:13-31 को लागि भिडियो