YouVersion लोगो
खोज आइकन

प्रेरित 18:12-23

प्रेरित 18:12-23 NCV

गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए। उनलाई तिनीहरूले यस्तो आरोप लगाए, “यो मानिसले हाम्रो व्यवस्थाका विरुद्ध परमेश्‍वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।” जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्‍न मलाई न्यायोचित हुनेछ। तर यो त वचनहरू, नामहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैँले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।” तसर्थ उनले तिनीहरूलाई अदालतबाट लखेटिदिए। अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्। पावल धेरै दिनसम्म कोरिन्थमै बसे। त्यसपछि तिनी विश्‍वासीहरूसँग बिदा भएर प्रिस्किला र अक्विलालाई आफ्नो साथ लिएर जहाजबाट सिरियातिर लागे। जहाजमा चढ्नुभन्दा अगि आफ्नो एउटा भाकलको कारण उनले किंक्रियामा कपाल खौरे। अनि तिनीहरू एफिसस आइपुगेपछि पावलले प्रिस्किला र अक्विलालाई त्यहीँ छोडे। उनीचाहिँ त्यहाँको एउटा सभाघरमा गए र यहूदीहरूसँग तर्क गर्न लागे। तिनीहरूले अझ केही समय बस्‍न उनलाई अनुरोध गरे, तर उनले सो मानेनन्। तर त्यहाँबाट बिदा लिने बेलामा पावलले यसरी प्रतिज्ञा गरे, “परमेश्‍वरको इच्छा भयो भने म फेरि आउनेछु।” त्यसपछि उनले एफिससबाट जहाजको यात्रा गरे। जब तिनी कैसरियामा उत्रिए, तब यरूशलेममा गए। अनि मण्डलीमा सबैलाई अभिवादन गरेर तल एन्टिओखियातिर गए। एन्टिओखियामा केही समय बसेर, पावल त्यहाँबाट पनि हिँडे; अनि गलातिया र फ्रिगियाका सम्पूर्ण क्षेत्रहरूका चेलाहरूलाई सामर्थी बनाउँदै एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दैगए।

प्रेरित 18 पढ्नुहोस्

Video for प्रेरित 18:12-23