प्रेरित 18:12-23
प्रेरित 18:12-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्याए, र यसो भने, “यस मानिसले व्यवस्थाको विरुद्ध परमेश्वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ।” जब पावल बोल्नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, “यहूदी हो, यदि साँच्ची नै यो केही अन्याय वा दुष्ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्न उचित हुनेथियो। तर शब्दहरू, नाउँहरू र तिमीहरूको आफ्नै व्यवस्थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर। म यस्ता कुराहरूको इन्साफ गर्न इन्कार गर्छु।” अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए। तब तिनीहरू सबैले सभाघरका शासक सोस्थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्यस कुराको केही वास्तै राखेनन्। यसपछि पावल धेरै दिनसम्म त्यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्नो कपाल खौरे। तिनीहरू एफिससमा आइपुगे, अनि पावलले तिनीहरूलाई त्यहीँ छोड़े, र आफूचाहिँ एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गर्न लागे। तब उनीहरूले तिनलाई अझ केही दिन बस्ने बिन्ती गर्दा तिनले इन्कार गरे। उनीहरूसँग बिदा हुँदा तिनले भने, “परमेश्वरको इच्छा भए म फेरि तिमीहरूकहाँ फर्केर आउनेछु।” तब तिनी जहाजमा चढ़ी एफिससबाट गए। जब तिनी कैसरियामा उत्रे तब माथि उक्लेर मण्डलीलाई भेटघाट गरी अभिवादन गरेर एन्टिओखियातिर ओर्ले। तिनले त्यहाँ केही दिन बिताएर त्यहाँबाट निस्की गलातिया र फ्रिगियाका इलाकाहरू भएर सबै चेलाहरूलाई हौसला दिँदै भिन्न-भिन्न स्थानमा गए।
प्रेरित 18:12-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए। उनलाई तिनीहरूले यस्तो आरोप लगाए, “यो मानिसले हाम्रो व्यवस्थाका विरुद्ध परमेश्वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।” जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्न मलाई न्यायोचित हुनेछ। तर यो त वचनहरू, नामहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैँले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।” तसर्थ उनले तिनीहरूलाई अदालतबाट लखेटिदिए। अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्। पावल धेरै दिनसम्म कोरिन्थमै बसे। त्यसपछि तिनी विश्वासीहरूसँग बिदा भएर प्रिस्किला र अक्विलालाई आफ्नो साथ लिएर जहाजबाट सिरियातिर लागे। जहाजमा चढ्नुभन्दा अगि आफ्नो एउटा भाकलको कारण उनले किंक्रियामा कपाल खौरे। अनि तिनीहरू एफिसस आइपुगेपछि पावलले प्रिस्किला र अक्विलालाई त्यहीँ छोडे। उनीचाहिँ त्यहाँको एउटा सभाघरमा गए र यहूदीहरूसँग तर्क गर्न लागे। तिनीहरूले अझ केही समय बस्न उनलाई अनुरोध गरे, तर उनले सो मानेनन्। तर त्यहाँबाट बिदा लिने बेलामा पावलले यसरी प्रतिज्ञा गरे, “परमेश्वरको इच्छा भयो भने म फेरि आउनेछु।” त्यसपछि उनले एफिससबाट जहाजको यात्रा गरे। जब तिनी कैसरियामा उत्रिए, तब यरूशलेममा गए। अनि मण्डलीमा सबैलाई अभिवादन गरेर तल एन्टिओखियातिर गए। एन्टिओखियामा केही समय बसेर, पावल त्यहाँबाट पनि हिँडे; अनि गलातिया र फ्रिगियाका सम्पूर्ण क्षेत्रहरूका चेलाहरूलाई सामर्थी बनाउँदै एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दैगए।
प्रेरित 18:12-23 पवित्र बाइबल (NERV)
गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित न्यायलयमा लगे। यहूदीहरूले गल्लियोलाई भने, “यस मानिसले हाम्रो कानूनको विरुद्ध ईश्वर पूज्नु भनेर मानिसहरूलाई फकाउने चेष्टा गर्दैछ!” पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गल्ती अथवा अपराधपूर्ण कामका भए म तिमीहरूका कुरा सुन्ने थिएँ। तर यी शब्दहरू, नाउँहरू र तिमीहरूकै व्यवस्था विषयको हो। यसर्थ यी समस्याहरू तिमीहरू आफैं मिलाऊ। म त्यस्ता प्रकारका कुराहरूमा न्यायकर्ता हुन चाहन्न।” तब तिनीहरूलाई गल्लियोले न्यायलयबाट विदा दिए। तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन। पावल दाज्यू-भाइहरूसँग धेरै दिन बसे। त्यपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंक्रियामा परमेश्वरसँग आफ्नो प्रतिज्ञा पुरा गर्न पावलले आफ्नो केश कटाए। त्यसपछि तिनीहरू एफिसस्मा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिसस्मा हुँदा सभाघरमा गए अनि यहूदीहरूसँग बात गरे। तिनीहरूले पावललाई अझै केही दिन सम्म बस्ने आग्रह गरे तर तिनले मानेनन्। पावलले विदा लिएर हिँड्ने बेलामा भने, “यदि परमेश्वरको इच्छा भयो भने म तपाईंहरूकोमा आउनेछु।” अनि तिनी एफिससबाट जल यात्रा गरेर गए। पावल सिजरिया शहरमा गए। तब मण्डलीलाई अभिवादन गर्न उनी यरूशलेम सम्म गए अनि तब एन्टिओक झरे। त्यहाँ तिनी केही समय बसे। त्यसपछि त्यहाँबाट तिनी गलातिया र फ्रिगिया प्रदेशहरूमा गए। अनि चेलाहरूको उत्साह बढाए।
प्रेरित 18:12-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अखैया इलाकामा गलियोन भनिने व्यक्ति बडा-हाकिम भएका बेला यहूदीहरू मिलेर पावलमाथि जाइलागे र उनलाई पक्रे। उनलाई बडा-हाकिमकहाँ लगेर भने, “यस मानिसले हाम्रो व्यवस्थासँग नमिल्ने तरिकाले परमेश्वरलाई पुज्न सिकाएर मानिसहरूलाई बिगार्न खोज्दै छ।” पावल बोल्नैआँटेका थिए। तब गलियोनले यहूदीहरूलाई भने, “यहूदीहरू हो, यदि यो कुनै नराम्रो काम अथवा ठूलो अपराधको कुरा भएको भए मैले तिमीहरूको उजुर सुनेर न्याय गर्नु ठीक थियो। तर यो कुरा त तिमीहरूकै शास्त्र, नाम र व्यवस्थाको बारेमा मात्र रहेछ। त्यसो हुँदा तिमीहरू आफैंले नै यसको न्याय गर। मलाई यस कुराको न्याय गर्ने चासो छैन।” यसो भनेर गलियोनले तिनीहरूलाई न्यायालयबाट पठाइदिए। अब यहूदीहरूले सभाघरका शासक सोस्थेनेसलाई पक्रेर न्यायालयको अगाडि नै कुटे। तर गलियोनले केही वास्तै गरेनन्। पावल निकै दिनसम्म प्रभुमा विश्वास गर्ने दाजुभाइहरूसँग कोरिन्थ सहरमा बसे। त्यसपछि उनी बिदा भएर प्रिस्किला र अकिलाससँग समुद्रको बाटो भई सिरिया इलाकातिर जान हिँडे। केही समयअगाडि कुनै भाकल गरेको हुनाले पावलले किंक्रिया सहरमा पानीजहाज चढ्नुभन्दा अघि आफ्नो कपाल खौरे। एफिसस सहरमा आइपुगेपछि प्रिस्किला र अकिलास एफिससमै बस्ने भए। पावलचाहिँ एफिससको सभाघरमा पसेर यहूदीहरूसँग वाद-विवाद गर्न लागे। यहूदीहरूले पावललाई केही दिनसम्म उनीहरूसँगै बस्न बिन्ती गरे, तर उनी मानेनन् र पावल यसो भनेर तिनीहरूसँग बिदा भए, “यदि परमेश्वरको इच्छा भयो भने म फेरि तपाईंहरूकहाँ आउनेछु।” त्यसपछि उनी एफिससबाट समुद्रको बाटो लागे। कैसरिया सहरमा आइपुगेर पावल यरूशलेममा गए अनि त्यहाँको मण्डलीका मानिसहरूसँग भेटघाट गरे। त्यसपछि उनी एन्टिओखिया सहर गएर केही दिनसम्म बसे। त्यसपछि उनी गलातिया र फ्रिगिया इलाकाका ठाउँहरू हुँदै गए र ठाउँ-ठाउँमा भएका प्रभुका सबै चेलाहरूलाई विश्वासमा बलियो बनाए।