YouVersion लोगो
खोज आइकन

प्रेरित 18:12-23

प्रेरित 18:12-23 NNRV

जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्‍याए, र यसो भने, “यस मानिसले व्‍यवस्‍थाको विरुद्ध परमेश्‍वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ।” जब पावल बोल्‍नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, “यहूदी हो, यदि साँच्‍ची नै यो केही अन्‍याय वा दुष्‍ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्‍न उचित हुनेथियो। तर शब्‍दहरू, नाउँहरू र तिमीहरूको आफ्‍नै व्‍यवस्‍थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर। म यस्‍ता कुराहरूको इन्‍साफ गर्न इन्‍कार गर्छु।” अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए। तब तिनीहरू सबैले सभाघरका शासक सोस्‍थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्‍यस कुराको केही वास्‍तै राखेनन्‌। यसपछि पावल धेरै दिनसम्‍म त्‍यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्‍किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्‍नो कपाल खौरे। तिनीहरू एफिससमा आइपुगे, अनि पावलले तिनीहरूलाई त्‍यहीँ छोड़े, र आफूचाहिँ एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गर्न लागे। तब उनीहरूले तिनलाई अझ केही दिन बस्‍ने बिन्‍ती गर्दा तिनले इन्‍कार गरे। उनीहरूसँग बिदा हुँदा तिनले भने, “परमेश्‍वरको इच्‍छा भए म फेरि तिमीहरूकहाँ फर्केर आउनेछु।” तब तिनी जहाजमा चढ़ी एफिससबाट गए। जब तिनी कैसरियामा उत्रे तब माथि उक्‍लेर मण्‍डलीलाई भेटघाट गरी अभिवादन गरेर एन्‍टिओखियातिर ओर्ले। तिनले त्‍यहाँ केही दिन बिताएर त्‍यहाँबाट निस्‍की गलातिया र फ्रिगियाका इलाकाहरू भएर सबै चेलाहरूलाई हौसला दिँदै भिन्‍न-भिन्‍न स्‍थानमा गए।

Video for प्रेरित 18:12-23