YouVersion लोगो
खोज आइकन

प्रेरित 15:22-35

प्रेरित 15:22-35 NCV

त्यसपछि प्रेरितहरू र प्रधानहरू लगायत, सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही मानिसहरूलाई पावल र बारनाबासको साथ एन्टिओखियामा पठाउने निर्णय गरे। तिनीहरूले बर्साबास भनिने यहूदा र सिलासलाई चुने, जो तिनीहरूका अगुवा थिए। उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए: एन्टिओखिया, सिरिया र किलिकियामा बस्‍ने गैरयहूदी विश्‍वासीहरूमा: हामी प्रेरितहरू, प्रधानहरू र तपाईंहरूका विश्‍वासी दाजुभाइहरूबाट अभिवादन! हाम्रो आज्ञाविना नै हामीमध्ये केही मानिसहरू त्यहाँ आएर नाना थरीका कुरा गरेर तपाईंहरूको मन बिथोलेका छन् भनी हामीले सुनेका छौँ, यसकारण केही मानिसहरूलाई छनौट गरी तिनीहरूलाई हाम्रा प्रिय सङ्गी बारनाबास र पावलका साथ तपाईंहरूकहाँ पठाउन हामीले एकमतले निर्णय गरेका छौँ। यी दुई मानिसहरू यस्ता हुन्, जसले प्रभु येशू ख्रीष्‍टका नामका निम्ति आफ्नो प्राण जोखिममा पारेका छन्। यसैले हामी जे लेखिरहेका छौँ, त्यसलाई आफ्ना मुखको वचनद्वारा प्रमाणित गर्न यहूदा र सिलासलाई पठाइरहेका छौँ। यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौँ। मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, रगतबाट, घाँटी निमोठेर मारेका पशुहरूको मासु र व्यभिचारबाट टाढा रहनुहोस्! यी सबै कुराबाट अलग रहनुभयो भने असल हुनेछ! बिदा। त्यहाँबाट बिदा गरिएपछि ती मानिसहरू एन्टिओखिया पुगे। त्यहाँ तिनीहरूले मण्डलीलाई एकैसाथ भेला गराएर त्यो पत्र बुझाइदिए। ती मानिसहरूले त्यो पत्र पढेर त्यसका उत्साहपूर्ण अर्तीबाट खुशी भए। यहूदा र सिलास, जो आफैँ पनि अगमवक्ताहरू थिए, धेरै वचनहरूद्वारा विश्‍वासीहरूलाई प्रोत्साहित र स्थिर गराए। तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्‍वासीहरूद्वारा शान्तिको आशिष्‌सहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएको थियो। तर सिलासले त्यहीँ बस्‍ने निर्णय गरे। पावल र बारनाबासचाहिँ एन्टिओखियामै बसे। तिनीहरू त्यहाँ रहुन्जेल प्रभुको वचनको शिक्षा र सुसमाचार प्रचार गरे।

प्रेरित 15 पढ्नुहोस्

Video for प्रेरित 15:22-35