YouVersion लोगो
खोज आइकन

प्रेरित 15:22-35

प्रेरित 15:22-35 सरल नेपाली

त्‍यसपछि प्रेरित र मण्डलीका धर्म-गुरुहरूले प्रभुमा विश्‍वास गर्ने सबै दाजुभाइहरूसँग मिलेर दुई जना मानिसलाई चुने। उनीहरूले ती दुई जनालाई पावल र बारनाबासको साथ लगाएर एन्‍टिओखिया सहरमा पठाउने निश्‍चय गरे। ती छानिएका दुई जना मानिस बारसाबास भनिने यहूदा र सिलास थिए। प्रभुमा विश्‍वास गर्ने सबै दाजुभाइहरूमा ती दुई भाइ अगुवा थिए। ती चार जनाको हातमा यस्‍तो खालको पत्र दिएर पठाए– एन्‍टिओखिया, सिरिया र किलिकियामा रहने प्रभुमा विश्‍वास गर्ने अरू जातिका दाजुभाइहरूलाई तपाईंका दाजुभाइ अर्थात् यहाँका प्रेरित र मण्‍डलीका धर्म-गुरुहरूबाट अभिवादन छ। हामीहरूको बीचबाट गएका कुनै-कुनै मानिसहरूले उल्‍टो शिक्षा दिएर तपाईंहरूलाई दु:ख दिए भन्‍ने कुरा हामीहरूले सुनेका छौं। तर हामीहरूले ती मानिसहरूलाई पठाएका होइनौं। त्‍यसो हुँदा हामीले सभा गर्‍यौं, अनि एकमत भई हाम्रा कुरा तपाईंहरूकहाँ पुर्‍याउन हामीहरूकै बीचबाट केही दाजुभाइलाई छानेर हाम्रा प्रिय भाइ पावल र बारनाबाससँगै पठाउने निर्णय गर्‍यौं। पावल र बारनाबासले प्रभु येशू ख्रीष्‍टको कामको लागि आफ्‍नो ज्‍यानसमेत झण्‍डै गुमाएका थिए। यी दुई भाइहरूसँगै हामीले यहूदा र सिलासलाई पनि पठाएका छौं। हामीले लेखेको कुरा उनीहरू आफैंले पनि तपाईंहरूलाई बताउनेछन्। अब पालन गर्नुपर्ने मुख्‍य कुराबाहेक तपाईंहरूलाई मोशाले दिएका नियमको अरू बोझ नबोकाउनु नै पवित्र आत्‍मा र हामीहरूले ठीक ठहरायौं। अब मुख्‍य कुराचाहिँ यिनै हुन्– मूर्तिलाई बलि चढाएको कुरो नखानू, केहीको पनि रगत नपिउनू, घाँटी निमोठेर मारेको पशुको मासु नखानू अनि व्‍यभिचारबाट अलग भएर बस्‍नू। यी कुराहरू पालन गर्नुभयो भने तपाईंहरूलाई असल हुनेछ। तपाईंहरू सबैको भलो होस्। भन्‍नुपर्ने कुराचाहिँ यति नै हो। त्‍यसपछि ती चार दाजुभाइहरू यो पत्र दिएर एन्‍टिओखिया सहरमा गए। त्‍यहाँ उनीहरूले मण्डलीका सबै मानिसहरूलाई बोलाएर त्‍यो पत्र दिए। त्‍यो हौसला दिने पत्र पढेर सुनाउँदा सबै खुसी भए। यहूदा र सिलास आफैं पनि परमेश्‍वरको तर्फबाट बोल्‍ने अगमवक्ता थिए। उनीहरूले प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूलाई धेरै साहस दिँदै तिनीहरूको विश्‍वास बलियो बनाइदिए। निकै दिन बसेपछि उनीहरू त्‍यहाँका दाजुभाइहरूसँग बिदा भएर आफूलाई पठाउने दाजुभाइहरूकहाँ नै फर्केर गए। [तर सिलासलाई चाहिँ त्‍यहीँ नै बस्‍ने इच्‍छा भयो।] पावल र बारनाबासले केही समय एन्‍टिओखियामा बिताए अनि अरू धेरै जनासँग मिलेर प्रभुको शिक्षा दिँदै प्रचार गरे।

प्रेरित 15 पढ्नुहोस्

Video for प्रेरित 15:22-35