तब प्रेरितहरू, एल्डरहरू र सम्पूर्ण मण्डलीले मिलेर आफ्ना बीचबाट कतिपय मानिसहरूलाई चुनेर पावल र बारनाबाससँग एन्टिओखियामा पठाउन उचित ठाने, र भाइहरूमध्ये मुख्य मानिसहरू, यहूदा भनिने बारसाबास र सिलासलाई चुने र तिनका साथमा उनीहरूले यो पत्र पठाए: “एन्टिओखिया, सिरिया र किलिकियामा रहने अन्यजाति विश्वासी भाइहरूलाई, प्रेरितहरू र एल्डरहरूको अभिवादन। हामीले सुनेका छौं, कि हाम्रा बीचका कुनै-कुनैले हाम्रो आदेशविना नै तपाईंहरूका मन अस्थिर तुल्याएर तपाईंहरूलाई कैयौँ कुराले दुःख दिएका छन्। यसकारण हामी सबैले सर्वसम्मतिद्वारा गरेको निर्णयअनुसार कतिपय मानिसहरूलाई चुनेर तिनीहरूलाई हाम्रा प्रिय बारनाबास र पावलका साथमा तपाईंहरूकहाँ पठाउन हामीलाई उचित लाग्यो। यी मानिसहरू यस्ता हुन्, जसले हाम्रा प्रभु येशू ख्रीष्टको खातिर आफ्ना प्राण जोखिममा पारेका छन्। यसकारण हामीले यहूदा र सिलासलाई पठाएका छौं। तिनीहरूले पनि सोही कुराहरू मुखैले बताउनेछन्। किनभने पवित्र आत्मा र हामीहरूलाई यो उचित लाग्यो, कि यी आवश्यक कुराहरूबाहेक अरू बढ़ी बोझ तपाईंहरूलाई बोकाउनुहुँदैन। तपाईंहरू मूर्तिहरूलाई बलि चढ़ाएको थोक, रगत, गला अँठ्याएर मारेको पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुहोस्। यी कुराहरूबाट अलग्ग रहनुभयो भने असल हुनेछ। बिदा।” बिदाबारी भएपछि तिनीहरू एन्टिओखियामा आए, र समुदायलाई एकसाथ जम्मा गरेर सो पत्र दिए। पत्रमा भएका अर्तीका कुरा पढ़ी तिनीहरू खुशी भए। यहूदा र सिलास आफैहरू पनि अगमवक्ता भएका हुनाले भाइहरूलाई धेरै वचनद्वारा अर्ती दिएर तिनीहरूलाई बलिया गराए। यिनीहरूले केही दिन त्यहाँ बिताएपछि, त्यहाँका भाइहरूले यिनीहरूलाई पठाउनेहरूकहाँ शुभेच्छासहित बिदा दिई पठाए। [ तर सिलासलाई त्यहीँ बस्न असल लाग्यो।] पावल र बारनाबासचाहिँ शिक्षा दिँदै र प्रभुको वचन प्रचार गर्दै अरू धेरै जनाका साथ एन्टिओखियामा बसे।
प्रेरित 15 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 15:22-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू