YouVersion लोगो
खोज आइकन

प्रेरित 13:13-25

प्रेरित 13:13-25 NCV

पावल र तिनका सङ्गीहरू पाफोसबाट जहाज चढी पामफिलियाको पर्गा सहरमा पुगे। यूहन्‍नाचाहिँ त्यहीँबाट यरूशलेम फर्किए। पर्गाबाट तिनीहरू पिसिदियाको एन्टिओखियामा गए। शब्बाथमा तिनीहरू सभाघरभित्र पसे र त्यहाँ बसे। त्यहाँ व्यवस्था र अगमवक्ताका पुस्तकहरू पढिसकेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनेर खबर पठाए, “दाजुभाइ-दिदीबहिनीहरू हो, मानिसहरूलाई प्रोत्साहित गर्ने अर्तीका वचन तपाईंहरूसँग छ भने कृपा गरी भन्‍नुहोस्।” त्यो सुनेपछि पावल उभिएर सभालाई शान्त हुन हातले इशारा गर्दै भने: “हे इस्राएलीहरू र परमेश्‍वरको डर मान्‍ने गैरयहूदीहरू हो, मेरो कुरा ध्यानपूर्वक सुन्‍नुहोस्! इस्राएली जातिका परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई चुन्‍नुभयो। इजिप्टमा बस्दा उहाँले तिनीहरूलाई उच्‍च बनाउनुभयो। महान् शक्तिका साथ तिनीहरूलाई उहाँले त्यस देशबाट बाहिर ल्याउनुभयो। प्राय: चालीस वर्षसम्म उजाडस्थानमा तिनीहरूका व्यवहारलाई उहाँले सहनुभयो। कनानका सात राष्ट्रहरूलाई उहाँले नाश गर्नुभयो र उनीहरूको देश आफ्ना जनहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। प्रायः चार सय पचास वर्षसम्म तिनीहरूले त्यहाँ अधिकार जमाए। “यसपछि शमूएल अगमवक्ताको समय नआउन्जेल परमेश्‍वरले तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो। अनि मानिसहरूले एउटा राजाको माग गरे। अनि उहाँले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई तिनीहरूका राजा बनाउनुभयो। तिनले चालीस वर्षसम्म शासन गरे। तर शाऊललाई हटाएपछि दावीदलाई उहाँले तिनीहरूका राजा बनाउनुभयो। तिनको विषयमा साक्षी दिँदै परमेश्‍वरले भन्‍नुभयो: ‘यिशैको छोरा दावीदलाई मैले आफ्नो हृदयअनुसारको मानिस भेट्टाएको छु; जसबाट म जे काम गराउन चाहन्छु, त्यसले ती सबै गर्नेछ।’ “यिनै मानिसका सन्तानबाट परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम इस्राएलको एक उद्धारकर्ता येशूलाई ल्याउनुभयो। येशूको आगमनभन्दा अगाडि यूहन्‍नाले सबै इस्राएलीहरूमा पश्‍चात्ताप र बप्‍तिस्माको प्रचार गरे। जब यूहन्‍ना आफ्नो काम पूरा गरिरहेका थिए, उनले भने, ‘मलाई तपाईंहरूले को भनी ठान्‍नुभएको छ? म त उहाँ होइन। तर उहाँ मपछि आउनुहुनेछ। उहाँका पाउका जुत्तासम्म पनि फुकाल्ने योग्यको म छैनँ।’

प्रेरित 13 पढ्नुहोस्

Video for प्रेरित 13:13-25